Logo

अष्टलक्ष्मी शाक्यलाई हटाउनु माधव नेपालको भूल हुनेछः ज्ञवाली



काठमाडौं, भदौ १३ । नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले एमालेलाई जसरी पनि विभाजन गर्नुपर्छ भन्ने हिसाबले विभिन्न शक्तिहरु लगिरहेको आरोप लगाएका छन् । उनले  एमालेलाई सुदृढ गर्न लागिपरेकाले माधव नेपालको पार्टीमा जान नसक्ने बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता ज्ञवालीले ओलीसँग आत्मसमर्पण नगरेको दाबी गरे । उनले भने, “पचासौं वर्ष रगत, पसिना बगाएको आफ्नो पार्टीमा जानु कसरी आत्मसमर्पण हुन्छ ? हामीले कुनै व्यक्तिसित सम्झौता या आत्मसमर्पण गर्न चाहेका होइनौं  । बरु पार्टी विभाजन गर्न चाहेनौं । एउटा नेताको कमीकमजोरीका कारण पार्टी फुटाउँदै जाने हो भने स्थिति के होला ? आज माधव नेपालले नयाँ पार्टी बनाउनुभएको छ । भोलि त्यहाँ पनि अन्तरविरोध आउँछ । भोलि साथीहरुले माधव नेपालले भनेका कुरा नमान्न सक्छन् । अनि फेरि पार्टी फुटाउँदै हिँड्ने ?”
अध्यक्ष ओलीले एकताको ढोका बन्द गरेको स्थितिमा अर्को पार्टी बनाउनतिर लाग्ने हो कि भन्ने छलफल चलेको तर पार्टी फुटाउने निष्कर्षमा पुगिनसकेको पनि उनले स्वीकारे । उनले भने, “पार्टीमा संकटको अवस्था थियो । कोरोनाको बेला चुनाव घोषणा, दुईदुईचोटि संसद् विघटन, वरिष्ठ नेताहरुलाई कारबाही गरिएको थियो । र, ढोका नै बन्द भयो भने कुनै बेला अर्को पार्टी बनाउनतिर लाग्ने हो कि भन्ने लागेको थियो । तर पार्टी फुटाउने निष्कर्षमा पुगेका थिएनौं । पछि संसद् पुनःस्थापना भयो, केपी ओली सरकारबाट हट्नुभयो । नयाँ सरकार बन्यो । संसद् पूर्ण कार्यकाल चल्ने स्थिति आयो । १० बुँदे सहमति पनि भयो । अर्को पार्टी खोल्नुपर्ने उपादेयता रहेन ।”
उनले पार्टी फुटाएर माधकुमार नेपालले जीवनमा सबैभन्दा ठूलो गल्ती गरेको आरोप लगाए । उनले थपे, “माधव कमरेडले हामीसँग सल्लाह पनि गर्नुभएन । बरु प्रतिगामी अध्यादेश आएपछि मैले लामो टेलिफोन गरेर विनम्र अनुरोध गरेको थिएँ । यो तपाईं हामीले बनाएको पार्टी हो, नछाड्नुस् भनेर हात पनि जोडेको थिएँ । भोलि गल्ती गरेको महसुस उहाँलाई हुन्छ ।”
उनले भोलि माधवकुमार नेपालसहितको एमाले बनाउन सकिने पनि बताए । उनले भने, “आज फुट्यौं भन्दैमा भोलि फेरि एकजुट बनाउन नसकिने होइन । हामी एमाले छाडेर जान सकिँदैन । बरु माधवकुमार नेपाल लगायतका साथीहरुलाई एमालेमा फर्काउने मेरो निरन्तर प्रयत्न जारी रहन्छ ।”

माधव नेपालले अष्टलक्ष्मी शाक्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री बनाउन वचन दिएकाले उनलाई हटाउनु गल्ती हुने पनि उनले बताए । उनले भने, “आफैंले जबर्जस्ती पठाउने र पछि हटाउने गरियो भने गल्ती हुन्छ । मलाई लाग्छ, सांसदहरुले विवेक प्रयोग गर्नुहुन्छ । पार्टी विभाजित भएपछि सबै ठाउँमा संकट आउँछ । त्यसका लागि पहल ओलीले गर्नुपर्छ । अन्धकार र सत्यानाशको बाटो जानुहुन्न । नैतिकताबिनाको राजनीति फोहोरी खेल हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot