काठमाडौं, भदौ १४ । नवगठित नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं सांसद कल्याणी खड्काले एमालेका मुख्यमन्त्रीहरूलाई आफ्नो दलको समर्थन नरहने स्पष्ट पारेकी छन् । अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफूहरु बाध्य नभएको पनि उनले बताइन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ खड्काले भनिन्, “बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालसँग समझदारी गर्नुभएको रहेछ र हाम्रो पार्टीमा आउनुभयो भने उहाँ रहनुहोला, समझदारी छैन भने उहाँ हट्नुहुन्छ । अर्काको पार्टीको सांसदलाई हामी किन मुख्यमन्त्री बनाउँछौं र ?”
नेतृ खड्काले उनले मन्त्री बन्नका लागि पार्टी नफुटाएको र मन्त्री पठाउन कुनै गाह्रो नभएको स्पष्ट पारिन् । उनले भनिन्, “हामीले हिजोमात्र संसदीय दल गठन गर्यौं । पार्टी नेतृत्वको गठबन्धन दलका शीर्षस्थ नेताहरुसँग छलफल भइरहेको छ । १०० जना सांसदमा त मन्त्री छानेका छन् भने २२ जनाबाट छान्नु ठूलो कुरा होइन । हामी राम्रा र सक्षम सांसदलाई मन्त्री पठाउँछौं ।”
उनले थपिन्, “हामी सबै पदको माया मारेर नयाँ पार्टीमा आएका हौं । संयोगले अध्यादेश आएर पो जीवित भयौं । हामी तीन तीनपल्ट केपी ओलीको कारबाहीमा परेका हौं । लोकतन्त्र, संसद् र संविधानको रक्षार्थ केही आधार नभईकन पनि फ्लोर क्रस गरेका हौं । मन्त्रीको कुनै सम्भावना थियो र हिजो ? जनताको समस्या समाधान गर्नका लागि पो सरकारमा जाने हो ।”