Logo

अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट हटाउँछु भन्नु माधव नेपालको बेइमानी : शेरबहादुर तामाङ



काठमाडौं, भदौ १४ । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको दोषारोपण गर्ने माधव नेपालले नै आज किन हटाउँछौं भन्नु राजनीतिक बेइमानी हुने बताएका छन् । अष्टलक्ष्मी शाक्य केही फरक स्थितिमा बाग्मती प्रदेशकी मुख्यमन्त्री भए पनि उनलाई विश्वासको मत दिनु माधव नेपालको कर्तव्य हुने उनले दाबी गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “एउटी महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको भनी केपी ओलीको आलोचना गर्ने माधव नेपालले आज किन हटाउँछौं भनिरहनुभएको छ ? माधव नेपालको पछि लागे मात्र अष्टलक्ष्मीको पद जोगिने भन्नु बेइमानी होइन ? सकेसम्म आफ्नै बहुमतले बाग्मती र प्रदेश १ सरकारलाई बचाउँछौं । नसकेको खण्डमा भोलि जनताले बहुमतसहित मुख्यमन्त्रीलाई फर्काउने छन् ।”

राजनीतिक नैतिकता देखाउने हो भने एमालेकै निर्वाचन चिह्न र घोषणापत्र लिएर जितेका सांसदले अर्को पार्टी रोज्न नसक्ने पनि उनले बताए । उनले भने, “सरकार नै नेकपा एमालेलाई नफुटाई नहुने हिसाबमा लागेर दल विभाजन अध्यादेश ल्यायो । कारबाही गरिसकेका मानिसलाई निर्वाचन आयोगले सनाखत गरेको छ, सभामुखले तिकडम गरेका छन्, अब हामी कानुनी उपचारमा लाग्छौं । अदालतले न्याय नदिए जनताले दिन्छन् ।”

हिजो माधव नेपाल समूहमा रहेका नेताहरु नयाँ पार्टीमा लाग्नु स्वाभाविक भएको पनि उनले बताए । उनले भने, “जो हिजो माधव कमरेडसँगै हुनुहुन्थ्यो, उहाँहरु नयाँ पार्टीमा लाग्नु के अनौठो भयो र ? कोही पनि व्यक्तिलाई दल छनोटको स्वतन्त्रता छ । तर विगतको अनुभवले के देखाएको छ भने नयाँ दल बनाउनेहरु निरन्तर असफल मात्र भएका छन् । घुमफिरी एमालेमै आउने हो भने एमालेमै बस्नूस् भन्ने आग्रह हुन्छ । तर काँडेतार लगाएर कसैलाई पार्टीमा थुनेर राख्दैनौं । तर फर्केर आउने सबैलाई ढोका खुलै राख्छौं ।”

दलविभाजनसम्बन्धी अध्यादेशले भोलि कांग्रेस र माओवादी नै फुट्ने स्थिति रहने उनले बताए । उनले थपे, “म सत्तारुढ दलहरुलाई चेतावनी दिन चाहन्छु, भोलि यही अध्यादेशले आफ्नै पार्टी विभाजित होला । यस्ता कानुनले व्यवस्थामाथि नै समस्या निम्त्याउँछ । यसलाई तत्काल खारेज गर्नुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot