काठमाडौं, भदौ १५ । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साह भोलि बिहानसम्म मन्त्रिपरिषद् विस्तार हुने ठोकुवा गरेका छन् । नवगठित नेकपा (एकीकृत समाजवादी) प्रति लचकता देखाउन आफ्नो पार्टी तयार भएको उनले बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता साहले भने, “हिजो हाम्रो पार्टीको बैठकमा सबै साथीहरुले मन्त्रिपरिषद् विस्तार हुन नसकेकामा चासो र चिन्ता व्यक्त गर्नुभएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले के भन्नुभएको थियो भने यो मन्त्रिपरिषद्लाई पूर्णता दिनु हाम्रो जिम्मेवारी हो । त्यसका लागि लचकता देखाउन हामी तयार छौं । भोलि बिहान (आज) नौ बजे शीर्षस्थ नेता बस्दैछौं र मन्त्रालय टुंगो लगाउँछौं र पर्सि (भोलि) बिहान विस्तार हुन्छ ।”
नेता साहले अहिले माधवकुमार नेपाललाई प्राविधिक र कानुनी जटिलताका कारण अप्ठ्यारो भएकाले सत्ता गठबन्धनका सहयात्री दलले लचकता देखाउनु पर्ने बताए । उनले थपे, “सबैलाई थाहा भएकै कुरा हो, माधवजीलाई अहिले अप्ठ्यारो अवस्था छ । त्यसैले यसमा सबैले साथ र लचकता देखाउनुपर्छ । उहाँलाई सहयोग गर्नु हाम्रो नैतिक जिम्मेवारी पनि हो । अझ हाम्रो पार्टीले त संसद्, सरकार र सडकमा पनि सहकार्यको वातावरण बनाउनुपर्छ । सहयात्री पार्टी भएकाले संख्यामा पनि हामी सहयोग गर्छौं । मन्त्रालयको बाँडफाँड भएपछि दलहरुले आन्तरिक रुपमा मन्त्रीको नाम प्रधानमन्त्री पठाउँछन् ।”
माओवादी केन्द्रका तर्फबाट सरकारको नेतृत्व कसले गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “सरकारको नेतृत्व शेरबहादुर देउवाजीले गरिरहनुभएको छ, हाम्रो पार्टी त सरकारमा सामेल हुने हो, कसले नेतृत्व गर्ने भन्ने टुंगिएको छैन ।”