काठमाडौं, भदौ १६ । नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाले बाग्मती र प्रदेश १ मा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । पाँच प्रदेशमा गठबन्धनका दलको सरकार बनिसकेकाले बाँकी दुईमा आफ्नो पार्टीको दाबी रहने उनले बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “पाँच वटा प्रदेशमा गठबन्धन दलका सरकार छन् । अब बाग्मती र प्रदेश १ मा प्रक्रिया सुरु हुन्छ र एकीकृत समाजवादीको नेतृत्व सरकारमा बन्छ ।”
सत्ता गठबन्धन बाहिरका मुख्यमन्त्रीलाई आफ्नो दलको समर्थन नरहने पनि उनले स्पष्ट पारे । उनले थपे, “संघमा गठबन्धनको सरकार चलाउने अनि प्रदेशमा गठबन्धनबाहिरको मुख्यमन्त्रीलाई समर्थन गर्न सकिँदैन । मुख्यमन्त्रीहरु हाम्रो दलमा आउनुहुन्छ, निरन्तरता पाउनुहुन्छ । आउनुहुन्न भने विकल्प खोज्छौं ।”
गठबन्धनमा आन्तरिक समझदारी हुँदा एकीकृत समाजवादीबाट बाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे नै हुने उनले बताए । उनले थपे, “हाम्रोबाट हुने भए राजेन्द्र पाण्डेको सम्भावना हुन्छ । माओवादी या कांग्रेस भए कोही होलान् ।”
नेता खतिवडाले एकीकृत समाजवादीका कारण मन्त्रिपरिषद् विस्तार नभएको कुरा गलत भएको बताए । उनले भने, “हाम्रो कारणले मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको होइन । गठबन्धनको बैठकमा माधव नेपाल र उपेन्द्र यादवको द्वन्द्व भएको भन्ने कुरा पनि प्रोपागन्डा हो । बैठकमै बसेजस्तो गरी कसैले पनि कुरा नगरौं । हामीबीच कुनै विवाद छैन ।”
आफ्नो पार्टीले धेरै मन्त्रालयको मागेको भन्ने कुरा पनि उनले अस्वीकार गरे । उनले भने, “हामीले संयुक्त सरकार बनाएका छौं । यसमा को दिने, को माग्ने ? यो एकले दिने अर्कोले लिने कुरा होइन । संसद् ब्यूँतायौ, संविधानलाई लिकमा ल्यायौं । तर हामीलाई अहिले सत्तामा जान हतार भएको बेतुकको हल्ला गरिएको छ ।”
मन्त्रिपरिषद् विस्तार राजनीतिक र प्राविधिक कारण अड्केको उनले बताए । उनले भने, “छिटो भएको राम्रो हो । चाहिने काम भएको छ कि छैन, त्यो महत्वपूर्ण हो । मन्त्री नहुँदा पहाड नै खस्यो भन्ने कुरा होइन ।”
प्रदेशसभामा आफ्नो पार्टीको उपस्थिति उत्साहजनक रहेको र स्थानीय तहमा टिकट केपी ओलीले बाँडेकाले केही कम देखिएको उनले स्वीकारे । उनले एमालेको सम्पत्ति नेपालको कानुनअनुसार मिल्छ समझदारी लिने अन्यथा नमिले दाबी नगर्ने पनि उनले बताए । उनले भने, “सम्पत्तिका लागि भनेर एमालेजस्तो र्याल काँडेर हिँड्दैनौं ।” जयसिंह धामी प्रकरणमा भारतीय पक्षसँग कूटनीतिक पहल गरिने उनले बताए ।