Logo

प्रदेश १ मा एक महिनाभित्रै गठबन्धन सरकार बन्छः राजेन्द्र राई



काठमाडौं, भदौ १७ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं प्रदेश १ का नेता राजेन्द्र राईले नेकपा एमाले अल्पमतमा परेकाले गठबन्धनले सरकार बनाउनु स्वाभाविक भएको बताएका छन् । भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राईले कांग्रेसका २१, माआवादीको १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र लिम्बुवानका गरी गठबन्धनका पक्षमा ५० जना सांसदको बहुमत पुग्ने दाबी गरे ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राईले भने, “नेकपा (एकीकृत समाजवादी) को समर्थनमा अरु प्रदेशमा गठबन्धन दलको सरकार बनेकाले स्वाभाविक रुपमा हामीले मुख्यमन्त्रीको आकांक्षा राख्न सक्छौं । तर यो निश्चित भइसकेको कुरा होइन । हामी समझदारीमै नेतृत्व छनोट गर्छौं । र, सबैले सबैलाई स्वीकार्छौं । किनभने केन्द्रदेखिका सबै सरकार हामीले मिलेर बनाएका हौं । अब पनि मिलेर बनाउँछौं ।” आफ्नो नेतृत्वमा सरकार बनेमा प्रदेशको नाम राख्ने, विकास निर्माणको काम अघि बढाउने, सुशासन र शान्ति सुरक्षाका कायम गर्ने उनले जानकारी दिए ।
एक महिनाभित्र प्रदेशमा नयाँ सरकार बनिसक्ने नेता राईले बताए । उनले थपे, “यो सरकारको आयु एक महिनाभन्दा लामो हुने छैन । अब मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । केपी ओलीका गलत कामका विरुद्धमा माधव नेपालको साथ दिएर अहिले फेरि ओलीतिर लाग्नुभएको छ । त्यसकारण हामीले उहाँलाई विश्वासको मत दिने अवस्था छैन ।”
मुख्यमन्त्री भीम आचार्यले सत्ता गुम्ने भयले होस गुमाएर सांसद खरिद गरेको झुटा र अनर्गल आरोप लगाएको राईको भनाइ छ । उनले भने, “त्यो सबै प्रोपागान्डा हो । हामीले कसैलाई खरिद गरेका छैनौं । हामीले कसैलाई मन्त्री दिनु पनि पर्दैन ।” उनले एमसीसीका कतिपय प्रावधान राष्ट्रको हितमा नभएकाले त्यसको पक्षमा नउभिने पनि बताए । उनले भने, “कतिपय प्रावधान देश विरोधी छ । सरकारले विधेयक ल्याएमा संख्या पुग्दैन, गठबन्धनमा खटपट हुन्छ ।” उनले चीनसँगको सीमा विवाद अध्ययन कार्यदल बन्नु सकारात्मक भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्