Logo

सभापतिको साझा उम्मेद्वार म पनि हुन सक्छुः कांग्रेस नेता केसी



काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका तर्फबाट पार्टी सभापतिको साझा उम्मेदवार आफू पनि हुन सक्ने बताएका छन् । मै हुनुपर्छ, तँ हुनुहुन्न भन्नु लोकतान्त्रिक चरित्र नभएको उनको कथन छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “मेरो निरन्तरको प्रयास सभापतिमा साझा उम्मेदवार दिने हो । तर त्यो जो पनि बन्न सक्छ । म पनि एउटा दाबेदार हुँ । मलाई पनि साथीहरुको दबाब छ । म आफूलाई कमजोर ठान्दिनँ । हामीले व्यक्तिभन्दा पनि विचार खोजका हौं । नेता होइन, नीतिप्रधान पार्टी खोजेका हौं । मै हुनुपर्छ, तँ हुनुहुन्न भन्नु लोकतान्त्रिक चरित्र होइन ।”
उनले रामचन्द्र पौडेल पनि  साझा उम्मेदवार हुन सक्ने बताए । उनले थपे, “मेरो जहिले पनि एकता प्रयास हुन्छ । मैले कसैको पक्ष र विपक्षमा बोलेको छैन । रामचन्द्रजी पहिले पनि सभापतिमा लडिसकेकाले उहाँको दाबी स्वाभाविक हो । रामचन्द्र पनि बन्न सक्नुहुन्छ ।” तर साझा उम्मेदवार कृष्णप्रसाद सिटौलासहितको सहमतिमा तोकिनुपर्ने पनि उनले बताए ।
नेता केसीले शेरबहादुर देउवाविरुद्ध एकढिक्का हुनेभन्दा पनि खुम्चेको पार्टीलाई तागत दिने हिसाबले साझा उम्मेदवारी दिने कुरा गरेको बताए । उनले भने, “यो कसैको विरोध कसैको या कसैको समर्थन या पक्षधरता होइन । शेरबहादुरजी पनि हाम्रै साथी हो । हाम्रै सभापति हो । पार्टी खुम्चेर जुन आकारमा पुगेका छौं, अब पहिलेको स्थितिमा पुर्याउन खोजेका हौं ।”
५६ जिल्लामा क्रियाशील सदस्यताको टुंगो लागेकाले आज वडा अधिवेशन हुने र बाँकी जिल्लामा भदौ २२ गतेभित्र सबै वडा अधिवेशन हुने विश्वास उनले व्यक्त गरे । उनले भने, “वडामा गुटगत नभई सकेसम्म प्रभावशाली र योगदान पुर्याएका साथीहरु समेटिने गरी निर्वाचनभन्दा सहमतिलाई प्राथमिकता दिन भनेका छौं । कतिपय साथीहरुनए लोकतान्त्रिक मूल्य र मान्यतामा मित्रवत् प्रतिस्पर्धा गर्नुलाई अन्यथा लिनुहुँदैन ।”

५२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनु दुःखद भएको पनि उनले बताए । उनले भने, “सय दिनलाई सरकारको मधुमास भनिन्छ । ५२ दिन त गइसक्यो । तर यसमा कांग्रेसको मात्र कारण छैन ।” उनले भारत र चीनसँग सन्तुलित र समन्वयकारी कूटनीति अँगाल्नका लागि चनाखो र गम्भीर हुनुपर्ने औंल्याए ।



प्रतिक्रिया दिनुहोस्