Logo

अस्थिरतामा रमाउने वामदेवले पार्टी छाड्दैमा एमालेलाई केही  घाटा छैनः भट्टराई



काठमाडौं, भदौ १९ । नेकपा एमालेका नेता विशाल भट्टराईले अस्थिरतामा रमाउने बामदेव गौतमले पार्टी छाड्दैमा कुनै घाटा नहुने बताएका छन् । उनले भोलि माधव नेपालका लागि वामदेव टाउको दुखाइ हुने पनि ठोकुवा गरे ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता भट्टराईले भने, “२०५४ सालमा एमाले पार्टी विभाजन गराउनुभयो, पछि एमालेमै फर्कनुभयो । उहाँले केपी ओलीसँग भयंकर ठूलो जिम्मेवारी माग्नुभएको थियो । ओलीले मान्नुभएन । भोलि माधव नेपाललाई दुःख दिने उहाँ नै हुनुहुनेछ । उताको पार्टी ध्वस्त गर्न उहाँ सहयोगी नै हुनुहुनेछ ।”
वामदेव गौतमको साथमा कोही पनि नभएको पनि उनले दाबी गरे । उनले भने, “उहाँले पार्टी छाड्दैमा हामीलाई केही पनि घाटा हुँदैन । अर्को पार्टीमा सनाखत नगरेकाले उहाँकी श्रीमती तुलसा गौतम दिदी पनि एमालेमै सांसद हुनुहुन्छ । उहाँसँग कोही पनि छैन । ३० हजार फरक मत भएको बर्दियामा समेत उहाँलाई जनताले चुनाव हराए । अनि फलानोले हरायो भन्दै हिँड्नुभएको छ । यो कमजोर मानसिकता हो । जनताले नपत्याउनुमा कसैलाई किन दोष लगाउनु ?”
योगेश भट्टराईकै अनुरोधमा प्रदीप ज्ञवालीले प्रवक्ताको जिम्मेवारी लिएको तर यसलाई फेसबुकेले उछालेको आरोप लगाए । साथै उनले सभामुख अग्नि सापकोटाको नेतृत्वमा संसद् चल्न नदिने पनि बताए ।

नेता भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच एमसीसी पारित गर्ने कुनै सहमति नभएको दाबी गरे । उनले भने, “कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग छलफल गर्नुभएको हो । तर पार्टीले बनाएको कार्यदलले दिएको प्रतिवेदन अनुसार सुधार नभएसम्म हामी जस्ताको तस्तै पास गर्दैनौं ।”



प्रतिक्रिया दिनुहोस्