Logo

कांग्रेसमा नयाँ नेतृत्वको आवश्यकता छः चन्द्र भण्डारी



काठमाडौं, भदौ २० । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीलाई नयाँ नीति, नयाँ विचार, नयाँ दृष्टिकोण र नयाँ नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् । सत्ता र शक्ति नै परिवर्तनको बाधक हुने उनको तर्क छ ।
आज  बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “महाधिवेशनको सुरुवातले कांग्रेसजन उत्साही भएका छन् । तर हामीले पुराना परम्परा र शैली नै पछ्याइरह्यौं भने समयको नयाँ आवश्यकता पूरा गर्न सक्दैनौं । पार्टीमा नेतृत्व परिवर्तनको खाँचो छ तर त्यो बाटो द्वन्द्वको नभएर धैर्य र प्रेमपूर्ण हुनुपर्छ ।”
दैलेखमा १९ वर्षकी किशोरी वडा सभापति बन्नु पुरानो नेतृत्व बिदा हुने संकेत भएको उनले बताए । उनले थपे, “महाधिवेशनमा युवा सहभागी हुनु र नेतृत्व लिनु उज्यालो भविष्य र परिवर्तनको संकेत हो । त्यो केन्द्रमा पनि नेतृत्व परिवर्तनको संकेत हो । तर हरेक कुरामा चुनाव चुनाव मात्र भन्दा द्वन्द्व आउन सक्ने भएकाले सचेत पनि हुनपर्छ ।”

नेता भण्डारीले एमसीसी हतारमा पास गर्नु नहुने पनि औंल्याए । उनले भने, “हेर्नोस्, ५०, ५५ अर्ब धेरै ठूलो पैसा पनि होइन । जनताले प्रश्न उठाएपछि त्यसको तार्किक जवाफ नदिईकन द्वन्द्वका बीचमा हतारमा पास गर्नुहुन्न ।”



प्रतिक्रिया दिनुहोस्