Logo

संखुवासभा हत्याकाण्डः मृतकहरुको खुट्टामा जुत्ता कसरी ?



काठमाडौं, २३ भाद्र । संखुवासभाको उमलिङमा भएको हत्याकाण्डका दोषी पत्ता लगाउन प्रहरीले अनुसन्धानलाई गति दिएको छ । धरानबाट प्रहरीको विशेष टोली र काठमाडौंबाट सीआइबीको टोली समेत खटिएको छ ।

प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान बढाएको छ । दसीप्रमाणहरु संकलन गरी निचोडमा पुगेपछि मात्र प्रहरीले हत्याको यथार्थ सार्वजनिक गर्ने रणनीति बनाएको बुझिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली समेत खटाएको छ ।

उमालिङका एकै परिवारका ६ जनाको हत्या गरी शव खोल्सा, बाटो र मकैंबारीमा घोप्टिएको अवस्थामा फेला परेको थियो । घरका ९० वर्षीय वृद्ध बौद्धमान मात्र जिवित भेटिएका थिए ।

घटनामा मृतकहरुको खुट्टामा गम्बुट जुत्ता देखि स्याण्डल सम्म भेटिएको थियो । उनीहरुले कसरी जुत्ता लगाउन भ्याए ? लखेटिएको हो भने किन आवाज निकालेनन् ? अनुसन्धानको विषय बनेको छ । अहिलेसम्म प्रहरी अनुसन्धानबाट वरपरका छरछिमेकले समेत आवाज नसुनेको बुझिएको छ ।

धारिलो हतियार नभई मुंग्रो या घनजस्तो वस्तुले टाउकोमा प्रहार गरेको भेटिएको छ । पोस्टमार्टमबाट टाउकोमा चोट लागेर मृत्यु भएको खुलेको छ । सामान्य चोट र टाउकोमा रगत जमेको पाइएको छ ।

घटना साँझ या विहान भएको हो ? अनुसन्धानको विषय बनेको छ । घरका वृद्ध बौद्धमान कार्कीले साँझ ७ बजेतिर खाना खाइवरी सुतेको र विहान घटना देखेको प्रहरीलाई जानकारी दिएका छन् ।

२० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष १० का विपिन कार्की र पनातिनी वर्ष ७ की गोमा कार्की मृत फेला परेका थिए ।

प्रहरीका अनुसार पार्वतीको शव घरमा नै फेला परेको थियो । तेजबहादुरको शव रोडको भित्तामा, कमला र रञ्जनाको शव खोलामा भेटिएको थियो । विपिन र गोमाको शव एक किलोमिटर टाढा बारीमा मृत फेला परेको थियो ।
कार्की परिवारले झापामा जग्गा किन्न बैना हालेको र त्यसको सुईंको पाएर लुट्ने उद्देश्यले हत्या गरिएको आशंका समेत गरिएको छ ।

कार्की परिवारका दुई सदस्य वैदेशिक रोजगारीमा गएका छन् । नातिहरु दुईजना विदेशमा गएको र त्यो पैसाले तराई झर्न जग्गा खरिद गर्न लागेको बुझिएको छ । एकजना नातिको परिवार तराईमा बस्दै आएका थिए । अर्का नातिको परिवार बौद्धमान र छोराबुहारीसँगै संखुवासभामै थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot