काठमाडौं, भदौ २४ । लोकगायिका एवं सांसद कोमल ओलीले तीजमा नारीहरुका लागि पशुपतिनाथको मन्दिर सरकारले खोल्नुपर्ने बताएकी छन् । कोरोना महामारीका कारण दुई वर्ष सघंर्ष गरिसकेकाले भौतिक दूरी राखेर भए पनि मठमन्दिर दर्शन गर्न दिनुपर्ने उनको धारणा छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोकगायिका ओलीले भनिन्, “हुन त कोरोना महामारीका कारण रोकिएको होला । तर हामीले कोरोनासँग दुई वर्ष संघर्ष गरिसक्यौं । अब त भौतिक दूरी राखेर दर्शन गर्न सक्थ्यौं नि । साउन महिनादेखि नै पशुपतिनाथ लगायतका मठमन्दिर खोल्नुपर्नेमा तीजमा पनि नखोल्नुपर्ने कारण देखिँदैन ।”
उनले तीज हिन्दुको मात्र नभएर सबै नारीले समावेशी रुपमा मनाउन थालेको बताइन् । उनले भनिन्, “हामी नेपाली खुसी मानिस हौं । पीडाबाट मुक्तिका लागि विभिन्न चाडबाड मनाउँछौं । तीज हाम्रो संस्कृति र परम्परा हो । कुनै पनि धर्मले तीजलाई छेक्दैन ।”
तीजलाई उनले परिवर्तनको पर्वको रुपमा व्याख्या गरिन् । उनले भनिन्, “तीज नारी स्वतन्त्रताको पर्व पनि हो । नारी स्वतन्त्रताका लागि तीजले सहयोग गरेको छ । चाहेजति परिवर्तन त भएको छैन, तर सुधारोन्मुख अवस्था छ ।”
ओलीले तीजको व्रतले नारीलाई स्वस्थ बनाउने जिकिर पनि गरिन् । उनले भनिन्, “अहिले डाक्टरहरुले खानामा १६ घन्टा ग्याप राख्नुपर्ने बताउन थालेका छन् । अस्वस्थकर र बेटाइमे खानाले विभिन्न रोग बढिरहेका छन् । अशक्त र अनिच्छुकलाई भन्नु परेन । तर सक्नेले व्रत बस्दा सम्बन्ध गाढापन थप्छ र ऊर्जा प्राप्त हुन्छ ।” कार्यक्रममा उनले दुईवटा गीत पनि गाएकी थिइन् ।