Logo

प्रतिपक्षी एमालेले संयमित भएर संसद् खुलाउन अग्रसर हुनुपर्छः अर्थविद्



काठमाडौं, भदौ ३१ । अर्थविद् डा चन्द्रमणि अधिकारीले मुलुक बजेटविहीन बन्नुको जिम्मेदारी सरकारले लिनुपर्ने भए पनि यसमा प्रतिपक्षी एमाले संयमित भएर संसद् खुलाउनुपर्ने बताएका छन् । दलहरुले सत्ता राजनीतिलाई मात्र सर्वोपरि ठानी अर्थतन्त्रलाई बुझ्न नसक्दा बजेट होलिडेको अवस्था निम्तिएको उनको विश्लेषण छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् डा। अधिकारीले भने, ‘बजेट नहुनु भनेको देशै ठप्प हुनुहो, देश नै अवरुद्ध हुनु हो । अमेरिकामा पनि ३५ दिनसम्म बजेट होलिडे हुँदा प्रतिपक्षी दलले संयमित भएर संसद्को गतिरोध हटाउन अग्रसर भएको थियो । तर हामीकहाँ दलहरुले सत्ताकेन्द्रित राजनीति मात्र गरे । राजनीतिक संस्कार सिकेनन् । आर्थिक विषयलाई गम्भीरतापूर्वक लिएनन् । जनताको सेवा सुविधालाई ध्यान दिएनन् । नेता धेरै भए, राजनेता भएनन् । यो हाम्रो विडम्बना हो । बजेट होलिडेमा मुख्य जिम्मेवार सरकार नै हो । संसद्लाई डेडलक गर्ने र खारेज गर्ने दुवै दोषी हुन् ।’

अर्थविद् डा अधिकारीले संसद्बाटै बजेट पारित हुनुपर्नेमा जोड दिए । बजेटका निम्ति फेरि पनि अध्यादेश ल्याउनु उपयुक्त नहुने उनको धारणा छ । उनले थपे, ‘बजेट होलिडेका कारण जनताको दैनिकीमै प्रभाव पर्छ । अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा खोप ल्याउन समस्या हुन्छ । खोप कम्पनीलाई भुक्तानी दिन सकिँदैन । चाडबाड आएको छ, सामाजिक सुरक्षा भत्ता दिन सकिँदैन । राजस्वमा पनि प्रभाव पर्छ । पुँजीगत खर्च न्यून भएपछि आर्थिक वृद्धि हुन्न, लगानी पनि आउँदैन, रोजगारी सिर्जना हुन्न । बजेट १० दिन रोकियो भने फेरि गति लिन लिन एक महिना लाग्छ ।’

प्रदेश सरकार र स्थानीय सरकारमा पनि यो रोग सरे संघीयता कार्यान्वयनमा समस्या आउने उनको कथन छ ।



प्रतिक्रिया दिनुहोस्