Logo

क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त, कनिष्ठलाई डिजी बनाउने चलखेल सतहमा



काठमाडौं, असोज ६ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् ।

पर्यटन मन्त्रालयले क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिन गरेको सिफारिसका आधारमा महानिर्देशक पोखरेलले राती नै उनलाई निमित्त महानिर्देशक नियुक्त गरेका हुन् । अब मन्त्रिपरिषद्को बैठकले निणर्य गरेपछि उनी महानिर्देशकमा नियुक्त हुनेछन् । पोखरेलको अवकासपछि प्राधिकरणमा वरिष्ठताका आधारमा हाल १२औ तहका तीन जना उपमहानिर्देशक छन् ।

अहिले महानिर्देशक बन्ने लाईनमा राजकुमार क्षेत्री, भोला प्रसाद गुरागाईँ, र प्रतापबाबु तिवारी रहेका छन् । पाँच जना उपमहानिर्देशक रहेको प्राधिकरणमा नरेन्द्र बहादुर थापा र देवानन्द उपाध्यायले भने अवकास लिईसकेका छन् । क्षेत्री सेवा अवधि र १२औं तहमा भएको बढुवाका आधारमा सबैभन्दा सिनियर हुन ।

उनी २०७२ फागुनमा कायम मुकायम उपमहानिर्देशकमा बढुवा भएका हुन भने २०७३ कार्तिकमा नियुक्त भएका थिए । त्यस्तै, गुरागाई र तिवारी भने २०७७ माघ १८ गते बढुवा भएका हुन् । तर, प्राधिकरणभित्र वरिष्ठ अधिकारीलाई किनारा लगाएर ११ औ तहका कनिष्ठलाई महानिर्देशकको जिम्मा लगाउने अस्वाभाविक चलखेल भईरहेको स्रोतको दाबी छ ।

नियमतः नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको रूपमा यस क्षेत्रको जानकार र अनुभवी वरिष्ठ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने हो । तर, यसविपरित प्राधिकरणका विज्ञ वरिष्ठ अधिकारीहरूलाई किनारा लगाउने र कनिष्ठलाई जिम्मा लगाउने प्रपञ्चसहित अहिले बालुवाटार वरिपरि घुम्नेहरूको अस्वाभाविक चलखेल देखिन्छ ।

त्यसो त पोखरेलका केही महिना बाँकी रहेपछि यो कसरत अघिल्लै सरकारका पालादेखि शुरु भएको हो । अहिले यो कसरत पुनः सतहमा देखिएको छ ।

चलखेल गर्दै आएका विवादास्पद व्यक्ति नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बने र नेपालको उडडयान क्षेत्रको छवि थप धुमिल बन्ने विज्ञहरूको बुझाई छ । सन २०१३ देखि नेपालको हवाई उड्डयन क्षेत्रलाई यूरोपेली युनियन (ईयू)ले कालो सूचीमा राख्दै आएको छ । ईयुको कालो सूचीबाट हटाउँन र सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिटलाई ह्यान्डल गर्न सक्ने नेतृत्व अवको महानिर्देशक बन्नुपर्नेमासमेत विज्ञहरुले जोड दिएका छन् ।

प्राधिकरणलाई सशक्त, सक्षम र सबल बनाई प्रभावकारी र पारदर्शीरूपमा हवाई सेवाको नियमन गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिदै प्राधिकरणभित्रै जनशक्तिको दक्षता अभिवृद्धि गरी उड्डयन सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय चासोसमेत सम्बोधन गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्नु पर्ने उनीहरुको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot