Logo

“दुईजिब्रे राष्ट्रवादले नेपालको विकासमा अवरोध भयो, एमसीसीको विवाद बेकार”



काठमाडौं, असोज १२ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले दुई जिब्रे राष्ट्रवादले नेपालको विकासमा अवरोध गरिरहेको बताएका छन् । उनले एमसीसीबारे जनतामा नकारात्मक कुरा प्रचार भइरहेको उनको आरोप छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थकालीले भने, “म कहिलेकाहीँ अचम्मित हुन्छु, एमसीसीको विवाद किन यति धेरै लम्बिएको छ ? म वाणिज्य मन्त्री हुँदा मन्त्रिपरिषद्ले बीआरआई सर्वसम्मत रुपमा पारित गरेको थियो । त्यतिबेला पनि चिनियाँ सेना आउँछ, क्षेत्रीय असन्तुलन ल्याउँछ भन्ने विवाद थियो । अहिले एमसीसीबारे पनि त्यस्तै हल्ला चलाइएको छ । मुस्ताङमा अमेरिकन सेना आउँछ रे । यस्ता प्रोपागन्डा विकास नचाहने मानिसले गरेका हुन् । उपाध्यक्ष स्वयं आएर यो सैन्य रणनीतिसँग सम्बन्धित छैन भनेर भनिसकेपछि विवाद बेकार हो ।”

नेता थकालीले एमसीसीबारे संसद्भित्रै बहस गर्नुपर्ने बताए । उनले भने, “मुलुकको अहित सम्झौता भएको छ भने त जनताको उच्च आवाज बोल्ने सार्वभौम संसद्मा पो बृहत् छलफल गर्नुपर्छ । यो कसैको चाहनाभन्दा पनि संसद्को चाहनामा भर पर्छ । भारतमा गाली गरेर मात्र हामी कसरी राष्ट्रवादी हुन्छौं ? चिनियाँ सुरक्षा थ्रेटलाई आत्मसात नगरे हामी कसरी असल मित्र हुन सक्छौं ? मलाई कसैप्रति ओठे भक्ति देखाउनु छैन । म नागरिकवाद, लोकतन्त्रवाद र मुस्ताङवादमा विश्वास गर्छु ।”

उनले देशलाई अधोगतिमा धकेल्नेहरुले अनावश्यक विवाद निम्त्याइरहेको बताए । उनले थपे, “नेपाली जनतालाई किन यति नकारात्मक कुरा प्रचार भइरहेको छ ? दुई जिब्रे राष्टवादले नेपालको विकासमा धेरै अवरोध भयो । एमसीसी मैले पनि पढेको छु । यी प्रोपागन्डा चलाउनेहरुको सूचनाको स्रोत के हो ? हिजो आफैं संसद्मा एमसीसी ल्याउने अनि आज पास गर्न हिचकिचाउने किन ? हाम्रै महालेखा परीक्षकले अडिट गरेको छ भने कसरी यो अमेरिकाले चलाउँछ भन्ने ?”

केपी ओलीको स्वेच्छाचारी सरकारलाई हटाएर आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्री बनाउँदा जनचाहनालाई ख्याल गर्नुपर्ने उनले बताए । उनले थपे, “ओलीले साढे तीन वर्षमा लथालिंग र भताभुंग पारेको संविधानलाई लिक ल्याउनु सबैभन्दा ठूलो जिम्मेवारी हो । म कति दिन रहन्छु भन्दा पनि जनता, राष्ट्र र लोकतन्त्रका निम्ति के गरेँ भनेर सोच्नुपर्छ । राजनीतिक उल्झनमा नेतृत्वको क्षमतामा प्रश्न उठिरहेका बेला समावेशी, स्वच्छ छवि, लैंगिक समानता भएको मन्त्रीमण्डल बनाउनु पर्छ । व्यापारी या डन हावी हुनुभएन । जनताका लागि संघर्ष गरेको उच्च नैतिक बल भएको मन्त्री बनाए मात्र जनताको विश्वास बढ्छ । हामी घरखेच त बेचेर राजनीतिमा लाग्या छौं, रातारात धनी बनेकाहरुलाई छानी छानी मन्त्री बनाउने हो भने नेपाली कांग्रेसलाई विघटन गरिदिए पनि हुन्छ ।”

कांग्रेसको चौधौं महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा जिल्ला अधिवेशनपछि घोषणा गर्ने उनले बताए । उनले भने, “गुट उपगुट म चिन्दिनँ, मुस्ताङमा सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मुस्ताङ कांग्रेसमा कुनै गुट छैन । कांग्रेस गुट मात्र हो । जिल्ला र क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि म कांग्रेसको रोडम्याप लिएर सार्वजनिक रुपमा आउने छु ।”



प्रतिक्रिया दिनुहोस्