Logo

मुटुरोगीको सङ्ख्या बढ्दै



काठमाडौं, असोज १३ । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ ।

उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ ।

नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ ।नेपालमा १८ वर्षमाथिका ३५ प्र्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । डा रेग्मीले विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्षभित्रका एक प्रतिशतलाई बाथ मुटुरोग रहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् । डा रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तत्व रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिए ।

सरकारको प्राथमिकता मुटु रोग रोकथामभन्दा पनि उपचारमा बढी भएको उनको विश्लेषण छ । सरकारले उपचारमा हैन रोकथामा केन्द्रित नीति बनाउनुपर्ने उनको धारणा रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्