Logo

प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर टेलिभिजन हेरेर मात्र थाहा पाउँछौंः रिमाल



काठमाडौं, असोज १४ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु रिमालले प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर टेलिभिजन हेरेर मात्र थाहा पाउने गरेको बताएका छन् । मुलुकमा सरकार भएको अनुभूति नै हुन नसकेको उनको आरोप छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले भने, “यो जनादेशबाट बनेको सरकार होइन, श्रीमान्जीहरुले परमादेशबाट बनाएका हुन् । तर जुन तरिकाले बने पनि सरकारलाई नमान्ने भन्ने हुँदैन । पाँच दलको गठबन्धन छ तर मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन । प्रधानमन्त्रीले प्रमुख विपक्षी दलका नेतासँग कुरै गर्नुभएको छैन । हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा फोन गर्नुहुन्थ्यो, डाक्नुहुन्थ्यो, भेट्नुहुन्थ्यो । अहिले त सीधा संवाद नै छैन । ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुन्, प्रधानमन्त्री होइनन् । प्रधानमन्त्री कहाँ हुनुहुन्छ भन्ने त हामी टेलिभिजन हेरेर थाहा पाउँछौं । प्रधानमन्त्री माधव नेपाल र प्रचण्डको छायाजस्ताे मात्र बन्न मिल्छ ?”

नेता रिमालले प्रधानमन्त्रीले एकपर्फी चुनाव घोषणा गरे पनि एमालेले स्वागत गर्ने बताए । उनले थपे, “एमालेले हिजो पनि चुनाव चाहेको हो । यो प्रतिनिधिसभाले डेलिभरी दिँदैन, मुलुकलाई क्षति मात्र पुर्याउँछ भनेर पुस ५ मा विघटन गरिएको हो । मन्त्री बन्न मन लागेका, मन्त्रीमा निरन्तरता दिन चाहेका, भोलि चुनावमा जाँदा जितिँदैन भन्ने लागेका हाम्रै कतिपय साथीहरु मिलेर परमादेश ल्याए । अहिले संसद् छ तर अध्यादेश ल्याएर काम गरिरहेका छन् । अनेक तिकडमबाजी चलिरहेको छ । अब के चल्ला भन्ने छ । त्यसैले एमाले चुनाव गर्नुपर्छ भनेको हो ।”

भोलिदेखि सुरु हुने विधान महाधिवेशनले एमालेलाई नयाँ ढंगले अघि बढाउने पनि उनले बताए । उनले भने, “एमालेमा माधवकुमार नेपाल हटिसकेपछि एकमना एकता कायम भएको छ । नेकपाको पालाको जस्तो भद्रगोल र भेट नहुने, भेट भएर पनि कुराकानी नहुने खालको भद्दा कमिटी बनाउँदैनौं । एमालेको छरितो कमिटी र व्यवस्थित शैलीलाई अझ परिष्कृत बनाउँछौं । एमालेमा गुटको ह्याङओभर विधान महाधिवेशनपछि सकिन्छ । अब गुट विघटन भएका छन् । हामीले गुटको मूल्य धेरै चुकायौं । गुट नभएको भए बहस हुन्थ्यो, विभाजन हुँदैनथ्यो । जति क्षति भयो, भइसक्यो ।”

सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनको जिम्मेवारी भीम रावलले नै लिनुपर्ने रिमालले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot