Logo

ओलीको स्तुतिगान गर्दागर्दै एमाले समाप्त हुने दिशामा छः झाँक्री



काठमाडौं, असोज १७ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको व्यक्तिपूजा, स्तुतिगान र जयजयकारले एमाले समाप्त हुने दिशामा गएको बताएकी छन् । व्यक्तिपूजा गरेर नै विश्व कम्युनिस्ट आन्दोलन ध्वस्त दृष्टान्त नबिर्सन उनको चेतावनी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, “विश्व कम्युनिस्ट आन्दोलन व्यक्तिपूजा गरेर नै ध्वस्त भएको हो । एमालेको कुम्भमेलामा पनि विचारविहीनको व्यक्तिपूजा गरिएको छ । अग्ला अग्ला पुत्लामुनि बिचरा मनुष्यहरु ङिच्च हाँसेर फोटो खिचिरहेका छन् । यस्तो दक्षिणपन्थी विसर्जनवाद कथा र फिल्ममा देखिएको थियो । त्यो हेर्दा हाम्रो विद्रोह सार्थक भएको प्रस्ट छ ।”

नेतृ झाँक्रीले थपिन्, “अलौकिक शक्तिको पूजा अन्धविश्वास हो । एमालेमा आज विचार, सिद्धान्त, नीति र आदर्श मरिसकेकोे छ । कार्यकर्तालाई चाकर र दासका रुपमा विकास गरिएको छ । विचारविहीन दक्षिणपन्थमा लागेका व्यक्तिको स्तुतिगान र जयजयकारले के स्पष्ट भएको छ भने एमाले समाप्त हुने दिशामा छ ।”

पार्टी गठन भएको एक महिना नबित्दै एकीकृत समाजवादीको राष्ट्रव्यापी संगठन निर्माण भएको उनले दाबी गरिन्, “एमाले भत्कँदै छ, हामी नयाँ बन्दै छौं । हामी संसद्मा चौथो ठूलो पार्टी हौं । पहिलो पार्टी भए एमालेले सरकार चलाउन सक्दैन, मुलुकलाई रुपान्तरणमा लैजान सकेन ।”

आगामी निर्वाचनमा एमाले र ओलीका लागि सिंहदरबारमा ढोका बन्द हुने उनले दाबी गरिन् । उनले भनिन्, “ओलीको अकर्मव्य, निरंकुश, अहंकारी चरित्रका कारण एमालेलाई आगामी निर्वाचनबाट सिंहदरबार प्रवेशको बाटो बन्द भएको छ । दुई तिहाइको जनादेश कुल्चेको व्यक्तिलाई जनताले पटकपटक मौका दिँदैनन् ।”

गठबन्धनमार्फत संविधान बचाउन आफ्नो पार्टी कठिबद्ध रहेको र सरकारले चाँडै पूर्णता पाउने उनले बताइन् । उनले भनिन्, “नेताहरु बिरामी हुनुभयो । हाम्रो टिमले संवाद गर्नुभएको होला । कानुनी अप्ठ्यारो अब फुकिसक्यो । अब ढिलाई हुन्न ।”

‘नेपाली बहस’ पाँचौं वर्ष प्रवेशका अवसरमा उनले सम्पूर्ण टिमलाई शुभकामना र बधाई दिइन् । उनले भनिन्, “नेपाली बहसको रेडियो सञ्जाल बलियो छ । देशभित्र र बाहिर उत्तिकै लोकप्रिय छ । यसले लोकतन्त्र, संविधान, राजनीतिक प्रणालीका पक्षमा निरन्तर बहस चलाइरहोस् ।”



प्रतिक्रिया दिनुहोस्