Logo

पौडेल समूहले पार्टी सभापतिमा साझा उम्मेद्वार तय गर्न नसके युवा नेताहरूले हस्तक्षेप गर्ने



काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको रामचन्द्र पौडेल समूहमा पार्टी सभापतिमा साझा उम्मेद्वार तय हुन नसके युवा पुस्ताले हस्तक्षेप गर्ने बताएका छन् । चौधौं महाधिवेशनको माहोल सुनिश्चित भएपछि त्यस्तो काम गरिने उनको भनाइ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “संस्थापन इतर समूहका तर्फबाट पार्टी सभापतिमा साझा उम्मेदवारीबारे छलफल गरेर आफैं टुंग्याउनुस् भनेका छौं । त्यसो हुन नसके चौधौं महाधिवेशनका क्रममा निर्वाचित जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधिहरूको समेत अन्तर्क्रियाबाट एउटा निष्कर्ष निकाल्छौं । त्यसमा पनि चित्त नबुझाउने हो भने हामी १२, १५ को युवाको जमातले हस्तक्षेप गर्छौ ।”

युवा नेताहरु पार्टी सभापतिका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, शेखर कोइराला कसैको पक्ष र विपक्षमा नरहेको पनि उनले स्पष्ट पारे । उनले भने, “अहिले हामी कसैको पक्ष या विपक्षमा छैनौं । रामचन्द्र पौडेल रामचन्द्र पौडेल शीर्ष र सम्मानित नेता हुनुहुन्छ । उहाँले सबैलाई सहमत गराएर आफैं बन्नुभयो भने पनि ठीकै छ । अरुलाई बनाउन सहमत हुनुभयो भने पनि हामी अवराध गर्दैनौं । तर आफू पनि बन्न नसक्ने, अरुलाई पनि बनाउन नसक्ने अवस्थामा हामी चार जना नेतामध्ये जसलाई पनि समर्थन गर्न सक्छौं । यसपालिको महाधिवेशनमा हामी नयाँ परम्परा सुरु गराउने कोसिसमा छौं ।”

नेता घिमिरेले पार्टीका युवा नेताहरुले गरेको उम्मेदवारी घोषणालाई सकारात्मक रुपमा लिएको र आफूले महाधिवेशनको सुनिश्चिततापछि मात्रै निर्णय लिने बताए । उनले थपे, “मैले पार्ट॥का साथीहरुको सुझावलाई मनन गर्ने हो । एउटा पदमा उम्मेद्वार॥ घोषणा गर्ने, अर्को पदमा उठ्ने मेरो बानी छैन । साथीहरुको उम्मेदवारीमा म खुसी नै छु । उहाँहरु हनोहार नेता हो । म चाहिँ महाधिवेशनको सुनिश्चितता भएपछि या परिस्थिति परिपक्व भएपछि मात्र मात्र उम्मेद्वारीबारे बोल्छु ।”

डढेल्धुरामा पार्टी सभापति शेरबहादुर देउवाबाटै पार्टीका नेता-कार्यकर्तामाथि क्रियाशील सदस्यतामा अन्याय भएपछि रिले अनशन र जिल्ला भेलामा सहभागिता जनाएको पनि उनले बताए । उनले भने, “ठूला नेताहरुको जिल्लामा आदर्श संगठन बन्न सक्नुपर्छ । देउवा आफैं पक्षपात हुन दिन्नँ, अन्याय भयो भन्न दिन्नँ भनेर सभापति बन्नुभयो । तर उहाँकै जिल्लामा आज पार्टीभित्रको आन्तरिक मामिला सडकमा आइपुग्यो । जो आधिकारिक उम्मेदवार हो, उसको नाम छैन, उसविरुद्ध बागी उठ्नेको नाम छ । जथाभावी नाम थपिएको छ, काटिएको छ । यो अन्याय हो ।”

डढेल्धुरामा केन्द्रको भन्दा पनि स्थानीय गुटबन्दी रहेको उनले बताए । उनले भने, “देउवाकै कारण जिल्लामा हजारौं व्यक्ति नेपाली कांग्रेस भएका छन्, उनीहरुले उहाँलाई आदर्श मान्छन् । देवत्वकरण गरेका पनि छन् । उहाँलाई पटकपटक जिताएका छन् । अरु नेताभन्दा ठूला नेता बनाएका छन् । तर अहिले आफैं अन्यायमा परेका छन् । अब सभापतिले एउटा गुटको संरक्षक भएर होइन, मुख्य न्यायाधीश भएर काम गर्नुपर्छ भन्ने मेरो धारणा छ ।”



प्रतिक्रिया दिनुहोस्