काठमाडौं, असोज २० । जनता समाजवादी पार्टीका वरिष्ठ नेता महेन्द्र राय यादवले सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँडमा आफ्नो दलभित्र कुनै असन्तुष्टि नभएको बताएका छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्दै नेता यादवले भने, “गठबन्धनमा सर्वसम्मति निर्णय भएको छ । गठबन्धनलाई बलियो बनाउने कुरामा हाम्रो सहमति छ । हामीले सबै जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएका छौं । पार्टी चलाउने अध्यक्षले नै हो । हामी असन्तुष्ट छैनौं ।”
नेता यादवले को को मन्त्री बन्ने भन्ने कुरा आज बस्ने कार्यकारिणीको बैठकबाट निर्णय हुने पनि स्पष्ट पारे । उनले थपे, “उपेन्द्रजी मन्त्री बनेर जानुहुन्छ कि जानुहुन्न, त्यो हाम्रो निर्णय होइन, उहाँको निर्णयमा हुन्छ । स्वाभविक रुपमा पार्टीका सांसदको मन्त्री बन्ने इच्छा हुन्छ । मन्त्रीका दाबेदार धेरै छन् । तर को को मन्त्री बन्दै छन्, पार्टीको बैठकबाट हुने कुरा मैले कसरी भन्नु ?”
जसपाले मालदार मन्त्रालय नमागेको पनि उनले बताए । उनले थपे, “गठबन्धन दलको भागबन्डा हो । कुनै न कुनै मन्त्रालय पार्टीको भागमा परिहाल्छ । हामीले यो मन्त्रालय चाहिन्छ, नत्र सरकारमा जाँदैनौं, कहिल्यै भनेका छैनौं ।”