Logo

विशेष सुरक्षा योजनाः अपराध नियमन तथा नियन्त्रणमा प्रहरी



काठमाडौं, २० असोज । बडादशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले राससलाई जानकारी दिए ।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनगर गरी अख्तियार गरिने सुरक्षा रणनीति तथा प्रहरी कारबाही, ड्युटी परिचालनदेखि ट्राफिक व्यवस्थापनसम्मको योजना सुरु गरेको हो । आवश्यकतानुसार प्रहरी जाँचलाई बढाइएको छ । प्रहरी परिचालन र सक्रियतालाई अधिकतम वृद्धि गरी अपराधजन्य घटना हुने स्थान र आपराधिक व्यक्तिका हर्कतउपर निरन्तर निगरानी जारी राखेको प्रहरीले जनाएको छ ।

त्यसअनुसार वीरगञ्ज महानगरपालिकाको मुख्य बजार माईस्थान रोड, आदर्शनगर, घण्टाघर, बसपार्कलगायतका स्थानमा रहेको स्थायी बजारलाई अव्यवस्थित हुन नदिन चौबीसै घण्टा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ड्युटी खटाइएको हो ।

दशैँ–तिहारलाई लक्ष्य गरी सर्वसाधारणले लत्ता कपडा, खाद्य वस्तुलगायत विभिन्न सामग्री ठूलो मात्रामा खरिद बिक्री हुने हुनाले बजार क्षेत्रमा सम्बन्धित प्रहरी एकाइबाट आवश्यकतानुसार सादा पोशाक, मोबाइल, पदैल गस्ती तथा पिकेटसमेत खटाइएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न अनुगमन टोली पठाइने छ । भीडभाडको मौका छोपी हुनसक्ने स्न्याचिङ र बैंक तथा वित्तीय संस्थामा हुनसक्ने लुटपाटलाई नियमन तथा नियन्त्रण गर्न सादा पोशाकका प्रहरी खटाइएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थामा तथा रकम भुक्तानी लिई आउने सेवाग्राहीलाई पिछा गरी लुटपाट, चोरी तथा ठगी हुनसक्ने सम्भावनालाई ध्यान दिई सचेत हुन आग्रह गर्ने, बैंक तथा वित्तीय संस्था भएका स्थानमा निरन्तर निगरानीमा राख्नाका साथै त्यस्ता स्थानमा प्रहरी गस्ती बढाइएको छ ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा सिसीटिभीजडित बजार तथा क्षेत्रका गतिविधि जिल्लास्थित सिसीटिभी कक्षबाट निरन्तर अवलोकन गरिएको छ भने कुनै पनि घटना घटाई भाग्न सक्ने अवस्थालाई मध्यनजर गरी मूलबजार (घण्टाघर, माईस्थान, आदर्शनगर)मा प्रहरी हवल्दारको कमाण्डमा तीन टोली खटाइएको हो । सुरक्षित वीरगञ्जअन्तर्गत रहेका सिसीटिभीबाहेक अन्य व्यवसायी तथा सङ्घसंस्थाले राखेका सिसीटिभीको समेत अभिलेख तयार गरी आवश्यकतानुसार घटनाको अनुसन्धान गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्