Logo

प्रधानमन्त्री देउवाको भ्रमणको वातावरण बनाउन भारत जान लागेका होइनौंः राणा



काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले आफ्नो भारत भ्रमण सरकारी नभएर पार्टीगत भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको वातावरण बनाउन भारत जान नलागेको उनले स्पष्ट पारे ।

भारतीय जनता पार्टीको निमन्त्रणामा सह-महामन्त्री डा. प्रकाशशरण महत, अजय चौरासिया र आफू आज भारत जान लागेको उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “हाम्रो भ्रमणको खास एजेन्डा केही छैन । नेपाली कांग्रेस र भाजपाको एक्सचेन्ज प्रोग्राम हो । एक महिना अघि भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले आउनुभएको थियो । त्यसकै निरन्तरता हो ।”

नेता राणाले आफूले प्रधानमन्त्रीको भन्दा पनि नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने स्पष्ट पारे । उनले भने, “हामीलाई सभापति देउवाले खटाएको भन्न मिल्छ । पार्टी टु पार्टी सम्बन्ध कायम गर्न छलफल गर्ने हो । सरकार टु सरकार वार्ता हुने होइन । तर, दुवै सत्तारुढ पार्टी भएकाले त्यसमा सरकारलाई इन्फ्लुेन्स गर्छ ।

नेपालको आर्थिक विकासका लागि केके सहयोग लिन सकिन्छ, त्यसबारे अनौपचारिक कुरा हुन्छ । हामीले ट्रेड लिंकमा कसरी सुधार गर्न सक्छौं, त्यसबारे पनि छलफल हुन सक्छ । नेपालसँग पनि उहाँहरुको अपेक्षा होलान् । फर्किसकेपछि प्रधानमन्त्रीलाई भेटेर हामीले जानकारी दिनेछौं । हाम्रो भ्रमणबारे परराष्ट्र मन्त्रालय र दूतावासलाई पनि जानकारी गराएका छौं ।”

उनले प्रधानमन्त्रीको भारत भ्रमणको कुरा मिलाउन जान नलागेको पनि स्पष्ट पारे । उनले थपे, “हाम्रो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छैन । हाम्रो स्कुल कलेजका साथीहरु एकदुई जना मन्त्री छन्, उनीहरुसँग व्यक्तिगत भेटघाट हुनु स्वाभाविक हो । हाम्रो औपचारिक भेटघाट पार्टी पदाधिकारीहरुसँग मात्र हुन्छ ।”

नेता राणाका अनुसार कांग्रेस प्रतिनिधिमण्डलको आजै बेलुकी भाजपा अध्यक्ष जेपी नाड्डालगायत पार्टीका विभिन्न पदाधिकारीसँग भेटवार्ता हुनेछ । त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता हुने छ । अर्को दिन लखनउ गएर उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने अर्को दिन बनारस गएर काशी विश्वनाथ दर्शन, बीएचयूमा नेपाल च्याप्टरसँग अन्तर्क्रिया हुनेछ ।

भूकम्पदेखि नै उत्तर नाका पूर्ण रुपमा नखुल्दा मर्का परेको बारे परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ध्यानाकर्षण गराएको उनले बताए । उनले भने, “२०७२ को भूकम्पदेखि नै उत्तरी नाका नखुल्दा नेपाली जनताको दैनिक जीवनचर्यामा प्रभाव पारेको छ । त्यसैले छिटोभन्दा छिटो नाका खुलाउनु हाम्रो प्राथमिकता हो ।

दशैंका सामान नआएको कुराबारे हाम्रो पार्टीका केन्द्रीय सदस्य लगायतका केही साथीहरुले परराष्ट्रमन्त्रीसँग भेटिसक्नुभयो । भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटी नहुँदा अर्थतन्त्रलाई नै हानि पुर्याउँछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot