Logo

कामपाको केन्द्रीय भवन निर्माणको काम शुरु



काठमाडौँ, २५ असोज: काठमाडौँ महानगरपालिकाले आफ्नै केन्द्रीय भवन निर्माण शूरु गरेको छ । भूमिगत आठ तले सो भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्यले शिलन्यास गरेका हुन् ।

नगर प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार करिब छ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० गाडी र ८० मोटरसाइकलका लागि पार्किङको व्यवस्था छ । महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढङ्गबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिए ।

भवनको प्रत्येक तल्लामा कार्यालय, बैठक हल, प्रशासन, कर्मचारी, आगन्तुक एवम् कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ । त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरी आपतकालिन मार्ग तथा सुरक्षित भ¥याङ रहने छन् ।

त्यसैगरी आकाशे पानी सङ्कलन तथा पर्याप्त फिल्टरेशन प्रणालीसहितको रिचार्ज पिट समावेश गरिएको पनि उक्त भवनमा रहने छ । भवनको जमिन तलादेखि सातौँ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा ३०० क्षमताको बैठक हल निर्माण गरिने छ ।

भवन अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुनेछ । अपाङ्गता भएका र जेष्ठ नागरिकका लािग १० जना क्षमताका दुई लिफ्ट रहेने बताइएको छ । यो भवन २०८० असोज मसान्तासम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत रु ६९ करोड ५८ लाख १९ हजार ३५९ छ ।

कमपाको सेवा पाँच स्थानबाट

हाल कामपामा १३ विभाग छन् । तिनका सेवा कार्यालय भने पाँच स्थानमा छन । भूकम्पअघि हरिभवनबाट आफ्ना सबै सेवा प्रदान गर्दै आएको महानगरपालिकाले भूकम्पका कारण विभिन्न स्थानमा छरिएर सेवा दिँदै आएको छ । महानगरको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको महानगरका केही विभाग सुन्धारामा नै रहेको जेडिए कम्प्लेक्समा छन् । त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन् ।

त्यस्तै नक्शा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् । त्यस्तै नगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट नै आफ्नो काम गरिरहेका छन् ।

महानगरका सूचना अधिकारी आचार्यका अनुसार नागरिकलाई सास्ती दिने उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँ जहाँ प्राप्त हुन्छ त्यहीँ लिइएको बताए । टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आएको भए पनि अन्य विभाग भने भूकम्पपछि र केही एक महीनाअघि मात्र सुन्धाराबाट अन्यत्र सरिएका हुन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot