Logo

बाढीपीडितको सम्बन्धमा प्रदेश सरकार किंकर्तव्यविमूढ भयोः सांसद खड्का



काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद भरतबहादुर खड्काले बाढीपहिरो प्रभावितको हकमा प्रदेश सरकार किंकर्तव्यविमूढ भएको आरोप लगाएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद खड्काले भने, “सुदूरपश्चिम प्रदेशको अवस्था नाजुक छ । डोटीमा मात्र सात-आठ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको हिसाबकिताब छैन । दर्जनौं सडक अवरुद्ध छन् । सञ्चार सम्पर्क छैन । जनताले राहतको अनुभूति गर्न पाएका छैनन् । हुन त हामी गठबन्धनमा छौं, तर हाम्रो सरकार छ, हामीसँग छ भन्ने अनुभूति गर्न सकेको छैन ।”

डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ लगायत पहाडी जिल्ला अस्तव्यस्त भएको र बाढीले तराईका जिल्ला डुबानमा पर्दा पनि तत्काल उद्धार र राहत उपलब्ध नभएकाले जनता निराश हुन पुगेको सांसद खड्काले बताए । उनले भने, “जनता तत्काल राहतको पर्खाइमा छन् । मैले गृहमन्त्री बालकृष्ण खाँडसँग सम्पर्क गर्दा पीएले उठाउनुभयो । दुइटा हेलिकप्टर पठाएको बताउनुभयो । तर, तीनै तहका सरकारको समन्वयमा जोखिम न्यूनीकरणका लागि प्रभावकारी परिचालन हुन सकेको छैन ।”

प्रदेश सरकारले प्रत्येक जिल्लामा २५ लाख राहत दिने निर्णय गरेर झारा टारेको पनि उनले बताए । उनले भने, “क्षतिका आधारमा राहत दिनुपर्नेमा मासुको बिलो बाँडेजस्तो गरेर प्रदेश सरकारले झारा टारेको छ । जनताले हामी कुन देशका नागरिक हौं भनेर सोध्ने अवस्था आएको छ ।”

 



प्रतिक्रिया दिनुहोस्