Logo

प्रदेश १ को नेतृत्वका विषयमा कांग्रेस इमानदार देखिएनः खतिवडा



काठमाडौं, कात्तिक ८ । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले प्रदेश १ सरकारको नेतृत्वका विषयमा कांग्रेसले राजनीतिक इमानदारी देखाउन नसकेको आरोप लगाएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, “गठबन्धनको निर्णय अनुसार कांग्रेसलाई मिलाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाको हो । सहमति गरेपछि पालना गर्नुपर्छ । तर उल्टै बाधा पुर्याइरहेको देख्न सकिन्छ । यसमा नियत छ कि असक्षमता नै हो, केही दिनमा देखिएला ।”

कांग्रेस गठबन्धनको राजनीतिक संस्कृतिलाई समाप्त गर्न उद्यत रहेको आरोप पनि उनले लगाए । उनले थपे, “कांग्रेसका केही सांसदले हामीलाई मन खिन्न बनाउने काम गर्नुभएको छ । नत्र प्रदेश १ र बागमतीमा हाम्रै नेतृत्वको सरकार बन्नुपर्ने हो । गठबन्धन र एकता चाहनुभएको छ भने यसका प्रकारका व्यवधान उत्पन्न गर्न मिल्दैन । यसमा कांग्रेसभित्रको अन्तर्विरोध मात्र छ कि नियत नै लुकेको छ भन्ने विषयमा हामीले नियालिरहेका छौं । इमानदारीको मात्रा कमजोर भए बेइमानीको मात्रा बढ्ने त हो नि ।”

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने कुरा पार्टीले निर्णय गरिनसकेको उनले बताए । खतिवडाले भने, “न्यायाधीशहरुको फुलकोर्ट बहिष्कार ठीक वा बेठीक के हो भन्ने निष्कर्ष पार्टीले निकालेको छैन । न्यायमूर्तिहरुले न्यायापालिकाको शुद्धीकरणबारे दिएको चासोलाई अहिले नाजायज भन्न पनि सकिँदैन, आधार पुष्टि नभएसम्म प्रधानन्यायाधीशलाई दोषी मान्न पनि मिल्दैन । यसलाई हामीले नजिकबाट नियालिरहेका छौं । यसबारे केही दिनपछि धारणा सार्वजनिक गर्नेछौं ।”

एमसीसी पास गर्छु भन्ने प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बेला आएको पनि उनले बताए । उनले भने, “एमसीसी प्रधानमन्त्रीले भन्दैमा पारित हुँदैन । पहिले केपी ओलीले पनि भन्नुभएको थियो । उहाँ त एमसीसीका लागि पार्टी विभाजन गर्न पनि तयार हुनुहुन्थ्यो । कानुन र विधिले नदिएका र सहमति नभएका कुरामा बोल्ने प्रधानमन्त्री देउवासँग पनि प्रश्न गर्ने बेला आएको छ ।”

प्रवक्ता खतिवडाले माधव नेपालसँग चुनाव लडेर हराउन एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी पनि दिए । उनले भने, “के केपी ओलीको जिन्दगीभरि राजनीतिक अवसान हुन्न ? के उहाँ अजम्बरी हुनुहुन्छ ? माधव नेपाल हार्ने चुनाव उठ्दैनन् भनेको हो भने तपाईं माधव नेपालसँग चुनाव लड्ने प्रयास गर्नुस् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot