Logo

सुडानी सेनाद्वारा सरकार विघटनसँगै संकटकालको घोषणा



एजेन्सी, ९ कात्तिक । सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्खानले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेका छन् । उनले सरकार विघटन गर्दै संकटकालको घोषणा सोमबार गरेका हुन् । संकटकाल लगाउनुभन्दा अघि त्यहाँको सेनाले सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई नजरबन्द गरेको थियो ।

अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको थियो । सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ गरेको केही समयमै प्रधानमन्त्री ह्यामडोकलाई पनि नजरबन्द गरेको थियो ।

नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो । सत्ता कब्जा गरेको सेनाले देशभरी इन्टरनेटलगायतका सञ्चार सेवाहरु अवरुद्ध गरेको छ । त्यसैगरीे राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरु बन्द गरिएका छन् । सेनाको कदमको विरुद्धमा प्रदर्शन समेत हुन थालेको छ भने प्रदर्शनमा सहभागीहरुलाई सेनाले गिरफ्तार गरेको छ । सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो ।

नागरिक अगुवासहितको सरकारलाई अपदस्त गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ । संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोह प्रति आपत्ति जनाएको छ । सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गरेका छन् ।

 

‘सुडानका प्रधानमन्त्रीसहित दर्जनौ नेता सेनाको नियन्त्रणमा, सत्ता पनि नियन्त्रणमा लिएको दाबी’



प्रतिक्रिया दिनुहोस्

Screenshot