Logo

एमालेले प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउने सम्भावना छैनः सांसद पोखरेल



काठमाडौं, कात्तिक १४ । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रकरणमा सत्ता गठबन्धनले मौनता साँधिरहेको स्थितिमा प्रतिपक्षी नेकपा एमालेले महाभियोग ल्याउने सम्भावना नरहेको बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “लोकतन्त्र बलियो हुनका लागि स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका चाहिन्छ । न्यायपालिकाको एक जनाले छाड्दा सबै थोक ठीकठाक हुन्छ भन्ने होइन । अहिले कुनै अमूक व्यक्तिलाई दोषारोपण गर्नुभन्दा सबैले मःमः भन्नुपर्ने स्थिति छ ।”

समग्र न्यायापालिकाको सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन हुनु जरुरी रहेको उनले बताए । पोखरेलले भने, “हामीले यस प्रकरणलाई प्रमुख प्रतिपक्षका हैसियतले वाचडगका रुपमा हेरिरहेका छौं । पहिले तपाईंहरु फुलकोर्ट बस्नोस्, त्यहाँ नै सरसल्लाह गर्नुस्, त्यसपछि मात्र हामीले समर्थन या विरोध गर्न मिल्छ । एमाले महाभियोगबाट कसैलाई स्थापित या विस्थापित गर्ने लाइनमा छैन । सुशीला कार्कीजस्तो प्रधानन्यायाधीशलाई अमूक मुद्दामा आफ्नो पक्षमा फैसला भएन भनेर महाभियोग ल्याएको जस्तो अवस्था सिर्जना गर्न हामी दिँदैनौं ।”

जिम्मेवार दलहरूले कुनै फैसलामा खुसी वा बेखुसी भएर धारणा बनाउन नमिल्ने दाबी उनले गरे । उनले थपे, “संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत हो । तर हामीले फलानोलाई प्रधानमन्त्री बनाऊ भन्ने परमादेश, गिटीढुंगा बालुवा निकासी र आमाका नाममा नागरिकता दिने प्रावधानबारे अदालत दिएको फैसला चित्त बुझाएका छैनौं । यसो भन्दैमा हामीले खुसी वा बेखुसी भएर धारणा बनाउन मिल्दैन । हामी त न्यायपालिकालाई मजबुत भएको हेर्न चाहन्छौं । अहिले एउटा पक्षमा लाग्ने कुरै छैन ।”

नेता पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनमा चुनाव जित्न निकै कठिन हुने बताए । उनले भने, “गत चुनावमा हामीले सहयोग गरेर जिताएका हौं । तर अहिले कांग्रेसहरु गठबन्धनको पक्षमा देखिँदैनन् । उहाँको आफ्नै बलले चुनाव जित्ने परिस्थिति छैन । हामी चितवनमा महाधिवेशन गरेर पाँच लाख मानिस उतारेर एमालेमय देश बनाउने अभियानमा छौं, त्यसैले धेरै शक्ति बढारिने स्थिति छ ।”

‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा दिएका केपी ओलीको विकल्प एमालेमा तत्काल नदेखिएको उनले बताए । उनले भने, “हामी एकमना एकताका साथ ओलीलाई अध्यक्ष बनाउँदै छौं । घनश्याम भुसाल, भीम रावल कमरेडहरुले वैचारिक विमति राख्न सक्नु होला । तर, अध्यक्षमा उम्मेदवारी दिनुहोला जस्तो लाग्दैन । अब समुद्रमा खोला खोज्ने काम गरिँदैन । समुद्रको भेल आफैं अगाडि बढ्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot