Logo

प्रचण्ड-माधव नेपाल गठबन्धन बनाएर चुनावमा गए कति सिट आउला ?



काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले तीन तहकै चुनावमा गठबन्धन बनाउने निश्चितप्रायः छ । तत्कालीन नेकपा हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा थिए । उनीहरुको केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रयास विफल भयो । त्यसपछि नेकपा फुट्यो । त्यसपछि एमाले पनि फुट्यो ।

माओवादी र नेकपा एस फरक पार्टी भएपनि चुनावसम्म एकीकरण हुने या गठबन्धन बन्ने सम्भावना बलियो छ । प्रचण्ड र माधव नेपाल दुवैले यसको संकेत गर्दै आएका छन् ।

प्रतिनिधि सभाको निर्वाचनसम्म पुग्दा माओवादी र नेकपा एस मिलेर चुनावमा जाने रणनीति बनिसकेको छ । त्यसका लागि उनीहरु मापदण्ड बनाएर बढ्ने बुझिएको छ । चुनावमा प्रचण्ड र माधव नेपाल मिलेर गएका कस्तो परिणाम आउला ?

नेकपा एमालेसँग विगतमा गठबन्धन बनाउँदा माओवादीले ठूलो सफलता हासिल गरेको थियो । एमाले फुटेर बनेको एससँग भने माओवादीको गठबन्धन बन्दा आउने परिणामको आँकलन कठिन छ ।

२०७४ सालको निर्वाचनमा माओवादीका ५९ प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३६ जनाले जीत हासिल गरेका थिए । जसमध्ये १२ जनाको १० हजारभन्दा बढी मतान्तर देखिएको छ । ९ जनाले ७ हजार, ५ जनाले ५ हजार, ६ जनाले ३ हजार, २ जनाले २ हजार र १ जनाले ५ सय मतान्तरले जीत हासिल गरेका थिए । यसलाई केलाउँदा माओवादीको आगामी चुनावमा १२ प्रत्यक्षतर्फको सिट मात्र सुनिश्चित भन्न सकिन्छ । ती सिटहरु माओवादीको पकड क्षेत्र पनि हुन् ।

रोल्पा, रुकुम पूर्व र पश्चिम, सल्यान, जाजरकोट, काभ्रे, चितवन जस्ता जिल्लामा माओवादीको प्रभाव बलियो छ । रौतहटलगायत तराईका केही जिल्लामा पनि माओवादी बलियो छ । तर, राजनीतिक भूगोल बलियो बनाएका प्रभु साह जस्ता नेताले माओवादी छाडेका छन् । यसको असर चुनावमा पर्न सक्छ ।

एमालेबाट माधवकुमार नेपालले २० देखि २५ प्रतिशत शक्ति तानेर फुटेको आँकलन गर्ने हो भने माओवादीसँगको गठबन्धनमा थप ९ सिटमा जितको सम्भावना रहनसक्छ । ती सिटमा माओवादीले ७ हजार मतान्तरले जितेको थियो । यसलाई जोड्दा माओवादीले प्रत्यक्षतर्फ १५ सिट जित्ने निश्चित जस्तै हुन्छ । समानुपातिकतर्फ १७ सिट जितेको थियो । त्यसमा केही तलमाथि मात्र हुन सक्छ । उसले अधिकतम २० सिट समानुपातिकतर्फ जित्न सक्छ । यसलाई जोड्दा माओवादीले नेकपा एससँग गठबन्धन गरेमा ३५ देखि ४० सिट ल्याउन सक्छ ।

नेकपा एससँग २३ सिट छ जसमा १२ प्रत्यक्ष निर्वाचित सांसद हुन् । तीमध्ये राजनीतिक भूगोल बलियो भएका विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ हुन् । यसकारण पनि उनीहरुलाई मन्त्री बनाइएको छ । नेकपा एसले प्रत्यक्षतर्फ अहिलेको जति सिट जित्न कठिन छ । माओवादीसँगको गठबन्धनले त्यो सम्भावना बलियो हुन्छ ।

नेकपा एमालेको ३० र नेकपा एसको ११ गरी एकीकृत हुँदा ४१ सिट समानुपातिकतर्फ थियो । माधव नेपालले एमालेको २० देखि २५ प्रतिशत शक्ति आफूतर्फ लगेको आँकलनको आधारमा अहिलेकै जति ११ सिट ल्याउन सक्छन् । यसरी जोड्दा नेकपा एसले माओवादीसँग गठबन्धन गरेमा अहिले जत्तिकै सिट संख्या पुर्याउन सक्छ । माओवादी र नेकपा एसको गठबन्धन बनेमा दुवैको जोड्दा प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ७० देखि ८० सिट आउन सक्छ ।

तर, प्रचण्डले जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरणलगायत कम्युनिस्ट तथा गैरकम्युनिस्ट घटकलाई गठबन्धनमा तान्न खोजेका छन् । त्यस्तो अवस्थामा भने गठबन्धनले सिट संखया बढाउन सक्छ ।

फुटको असर भने कम्युनिस्ट पार्टीहरुमा चुनावमा पर्न जाने निश्चित छ । २०५४ मा एमालेबाट फुटेर गएको नेकपा मालेले २०५६ को चुनावमा देशभर कुनै निर्वाचन क्षेत्रमा जित्न सकेन । नेकपा एमालेको पनि २०५१ को चुनावी परिणामभन्दा सिट संख्या घट्यो । पुरानो घटनालाई आधार मान्दा सबैभन्दा नोक्शान एमाले र एसलाई पर्न जान्छ । तर, एस माओवादीसँग गठबन्धन बनाएर जानसक्छ ।

२०६५ को पहिलो संविधानसभा चुनावमा माओवादीले अभूतपूर्व सफलता हासिल गरेको थियो । त्यतिबेला प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, बादल, विप्लव सबै एक ठाउँमा थिए । प्रचण्ड पूर्वमाओवादी एकतामा कम्मर कसेर लागेका छन् । बादलबाहेक अरु एकढिक्का हुने सम्भावना पनि छ । त्यस्तो वातावरण विकास भएर माधवकुमार नेपाल पनि मिलेर गएमा प्रचण्डले विगतकै इतिहास दोहोराउन सक्छन् । उनको महत्वाकांक्षी योजना पनि यस्तै बुझ्न सकिन्छ । जसको उनले खुलासा गरिसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot