काठमाडौं, कात्तिक १५ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतका न्यायाधीश, बार र सम्पादकहरूले अराजक र असंवैधानिक माग गरिरहेको आरोप लगाएका छन् । सडक आन्दोलनबाट प्रधानन्यायाधीश फेर्ने कुरामा एमालेको विमति रहेको उनले बताए ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भने, “हामी जहिले पनि संवैधानिक व्यवस्थाका पक्षपाती हौं । कसैलाई अनुहार मन परेको छैन भन्दैमा सडकबाट न्यायाधीश राख्ने र फाल्ने गर्दा विधिको शासन कहाँ रहन्छ ? अहिले बन्दी प्रत्यक्षीकरण मुद्दा समेत नहेरिने भयो । न्यायाधीश हडतालमा जाने तमासा कहाँ देख्नुभएको छ ? खास नेताहरुसँग अपवित्र गठबन्धन गरेर फैसला गर्ने अनि अराजक र असंवैधानिक बाटोबाट प्रधानन्यायाधीश फेर्ने ? उहाँहरुले मुलुकलाई भयानक अराजकतातिर लैजानुभएको छ ।”
उनले एमालेले प्रधानन्यायाधीशविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारे । उनले थपे, “हामीले किन महाअभियोग ल्याउने ? सत्ता गठबन्धनका सांसदहरुले महाभियोग ल्याए के गर्ने भनेर त्यतिबेलै सोचौंला ।”
प्रवक्ता ज्ञवालीले नेकपा विभाजन र एमालेका केही साथीहरुको बहिर्गमनका कारण प्रदेशमा पार्टीको सरकार जानु अस्वाभाविक नभएको बताए । उनले भने, “आफ्नो घर जलाएर खरानीको टीका लगाउने साथीहरु निस्केपछि के लाग्छ ! एमालेको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन ५० औं वर्षको इतिहास बिर्सनुभयो । त्यसको पुरस्कार स्वरुप तल मुख्यमन्त्री पाउनुलाई के ठूलो कुरा मान्ने ?”
एमाले अध्यक्ष केपी ओलीका कारण प्रदेश सरकार नढलेको उनले दाबी गरे । उनले भने, “नेकपाको एकता जोगाउन ओलीले के मात्र गर्नुभएन ? प्रचण्डलाई एकल अध्यक्ष बनाउने घोषणा गर्नुभएको थियो । अर्को चुनावमा प्रधानमन्त्रीको उम्मेदवार पनि नबन्ने भन्नुभएको थियो । माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार हुनुहुन्थ्यो । एउटा लोकप्रिय नेतालाई चार महिना पनि कुर्न नसक्ने, सत्ताबाहिर एक मिनेट बस्न नसक्ने ? जनमतबाट विस्थापित भएको भए, जनताबाट आलोचित भएको भए पो चिन्तित हुनुपर्थ्यो ।”
अहिलेका प्रदेश सरकारले संघीयताप्रति नै वितृष्णा जगाएको आरोप उनले लगाए । उनले भने, “केन्द्रमा २५ जना तोकिएकोमा छुद्र स्वार्थका लागि प्रदेशमा १८, १९ जना मन्त्री बनाइएको छ । नेपालमा स्थिरता सिर्जना हुन नदिने चक्रव्यूह रचिएको छ । नेपालमा राजनीतिक स्थिरता हुन नदिने शृंखलाको अन्त्य गर्नु जरुरी छ । यसको भुक्तभोगी २०१७ मा बीपी कोइराला बन्नुभयो, अहिले ओली बन्नुभयो । यसमा राजनीतिक पश्चात्ताप गर्नुपर्ने अवस्था छैन ।”
सरकारमा नभए पनि आफूहरुले चुनाव जित्ने उनले बताए । उनले भने, “हामी सरकारमा छैनौं । तर प्रतिपक्षमा हुँदा पनि एमालेको आकर्षण बढिरहेकै छ । सत्तामा भएका दलहरु परित्याग गरेर एमाले प्रवेश गर्ने क्रम तीव्र छ । हामीले २०५१ मा प्रतिपक्षमा रहेर लड्दा नै सफलता पाएका हौं । हामीलाई सत्ताको दुरुपयोग गर्नु छैन, जनताको मन जित्ने विश्वास छ ।”
प्रचण्डले आफ्नो नेतृत्वमा कम्युनिस्ट एकता अभियान चलाउने घोषणा गर्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले प्रवक्ता ज्ञवालीले भने, “बिहान बिहानै हसाउनुभयो ऋषिजी ! आफ्ना राजनीतिक गुरु मोहन वैद्य, सहयात्री बाबुराम भट्टराई, रामबहादुर थापा बादल, विप्लव आदिलाई समेट्न नसक्नेले कम्युनिस्ट एकता गर्छु भन्ने हास्यास्पद हो । उहाँका अभिव्यक्तिमा छटपटाहट देखिन्छ । जनता समाजवादी पार्टीसँग एकता गरिहालौं भन्नुभयो, उनीहरुले उपेन्द्र यादवलाई नेता मानेर आउनुस् भनिदिए ।”
उनले थपे, “बरु प्रचण्डले आफ्नो परिवारबाहेक अरुलाई योग्य नदेखेकाले माओवादीका तलका कार्यकर्ता एमालेमा आउँदै छन् । राष्ट्रियता भन्दै भारतसँग गठजोड गरेको, राजतन्त्रसँग अघोषित कार्यगत एकता गरेको, आतंककारी घोषणा गरेको दलसँग मिलेर सरकार बनाएको आदि कारणबाट नेतृत्वप्रति माओवादी कार्यकर्ता निराश छन् ।”