Logo

”ग्लासगोमा देउवाले के कुरा उठाए, मोदीले के जवाफ दिए ?”



काठमाडौं, कात्तिक १७ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख राजन भट्टराईले जलवायु सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच वार्ता हुनु सकारात्मक कुरा भएको बताएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले के कुरा उठाए र भारतीय समकक्षी नरेन्द्र मोदीले के जवाफ दिए भन्ने थाहा नपाईकन बोल्नु हतार हुने प्रतिक्रिया उनले दिए ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले विदेश विभाग प्रमुख भट्टराईले भने, “नेपाल र भारत नजिकको छिमेकी हौं, हाम्रो सम्बन्ध राम्रो बनाउनुपर्छ । तर हामीबीच धेरै समस्या छन् । सीमा विवाद, दार्चुलामा जयसिंह धामी बेपत्ता भएको घटना, कालापानी, लिम्पियाधुरा, लिपुलेकबाट भारतीय सेना फिर्ता, ईपीजी प्रतिवेदन, कोभिड सहकार्य, वैदेशिक मुद्राको सञ्चिती, असन्तुलित व्यापार आदि राष्ट्रिय राजनीति र जनसरोकारका विषय प्रधानमन्त्रीले उठाउनुभयो कि भएन ? भारतका तर्फबाट के जवाफ आयो ? नेपाल र भारत दुवै तर्र्फबाट कुनै कुरा बाहिर आएका छैनन् । त्यसैले यसबारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले जानकारी नदिएसम्म यसै भन्ने अवस्था छैन ।”

नेता भट्टराईले नेपाल भारत सम्बन्धका विविध समस्याबारे प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई कुरा गरेको विषयमा पनि शंशय व्यक्त गरे । उनले भने, “संवाद हुनेबित्तिकै सबथोक ठिकठाक भयो भन्ने ठाउँमा हामी छैनौं । भारतको नेपालीमा ठूलो लगानी छ । भारत नेपालको ठूलो ट्रेडिङ पार्टनर पनि हो । जलवायु परिवर्तनले हिमालयन रिजनमा नकारात्मक प्रभाव पारेको छ । यस विषयमा गम्भीरतापूर्वक कुरा उठाउनुपर्थ्र्यो ।”

असार २८ मा संवैधानिक व्यवस्था बाहिर गई परमादेश जारी गरेर देखाएको जात्राको पटाक्षेप भएको उनले बताए । उनले भने, “न्यायालयमा भएको आन्दोलनले धेरै थोक पटाक्षेप भएको छ । को को न्यायाधीश सेटिङमा थिए ? गठबन्धनका नेताहरुले के के दिन्छु भनेर बचनबद्धता गरेका थिए आदि कुरा न्यायाधीशहरुको आन्दोलनले अत्यन्त घिनलाग्दो रुपमा देखाएको छ ।”

उनले न्यायालय विवादमा प्रधानन्यायाधीश मात्र संलग्न नभएको दाबी गर्दै संवैधानिक इजलासमा बसेका पाँच जना पनि दोषी देखिएको आरोप लगाए । उनले भने, “यदि सजाय गर्ने हो पाँचै जना भागी हुन्छन् । यति कुरा उठेपछि पाँचै जना न्यायाधीशले नैतिकताका आधारमा राजीनामा दिनुपर्थ्र्यो । एमालेको धारणा के हो भने अहिले एक जना हट्दैमा सम्पूर्ण समस्या समाधान हुँदैन ।”



प्रतिक्रिया दिनुहोस्