Logo

विष्णुडोलमा गणेश मन्दिर उदघाटन, खानेपानी ट्रिटमेन्ट प्लान्ट शिलान्यास



ललितपुर, २१ कात्तिक । विष्णुडोल गणेश मन्दिर उदघाटन भएको छ । आजै विष्णुडोल खानेपानी शुद्धिकरणका लागि ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास भएको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले मन्दिर उद्घाटन गर्नुका सार्थ ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास गरेका छन् । पौराणिक महत्वको मन्दिर पुनः निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि स्थानीयबाट ३० लाख र नगरपालिकाबाट १० लाख सहयोग प्राप्त भएको थियो ।

यसैगरी विष्णुडोल खानेपानी ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास गरिएको छ । विष्णुडोल खानेपानीले एक दशकमै झण्डै तीन सय घरधुरीलाई २४सै घन्टा खानेपानी वितरण गर्ने क्षमता बनाइसकेको छ । खानेपानीको नाममा दुई वर्षभित्र ३० आना जग्गा पनि खरिद भएको छ । महालक्ष्मी नगरपालिकाको नमूना खानेपानीका रुपमा विष्णुडोल खानेपानीलाई लिइन्छ ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले विकास निर्माण र त्यसको व्यवस्थापनमा विष्णुडोलवासीले गरेको योगदानको प्रशंशा गरे । उनले निकट भविष्यमा महालक्ष्मी नगरपालिकालाई खानेपानी पर्याप्त हुने विभिन्न आयोजनाहरु अगाडि बढिरहेको जानकारी समेत गरे । विकासका काममा नगरपालिका जहिले पनि साथमा रहेको स्पष्ट पारे ।

कार्यक्रममा उपमेयर निर्मला थापा, वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ, ६ का अध्यक्ष वासुदेव महर्जन, मन्दिर निर्माण समितिका अध्यक्ष लक्ष्मण कार्की, खानेपानी आयोजनाका अध्यक्ष सहकुल खत्री, सचिव प्रल्हाद बिष्टलगायतले बोलेका थिए ।

कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । २५ हजारभन्दा माथिको आर्थिक सहयोग गर्नेहरुलाई मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot