काठमाडौं, कात्तिक २२ । शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता देवेन्द्र पौडेलले सत्ता गठबन्धन प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने निष्कर्षमा नपुगेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री पौडेलले भने, “नेपाल बार न्याय क्षेत्रको महत्त्वपूर्ण निकाय हो । बारले चलाएको आन्दोलनबारे हाम्रो ध्यानाकर्षण भएको छ । तर न्यायालयको विवादमा गठबन्धन या सरकारले हस्तक्षेप गर्न मिल्दैन । हामी प्रधानन्यायाधीशविरुद्ध महाभियोग लैजाने कुनै निष्कर्षमा पुगेका छैनौं ।”
शिक्षामन्त्री पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अदालतलाई राजनीतिककरण गरेको भन्ने कुरामा प्रमाण नपुग्ने जिकिर गरे । उनले थपे, “मन्त्रिपरिषद् विस्तार नितान्त प्रधानमन्त्रीको कार्यक्षेत्र हो । त्यसको जस, अपजस सरकारलाई नै जान्छ । गजेन्द्र हमाल नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुनुहुन्छ । प्रधानन्यायाधीशसँग उहाँको व्यक्तिगत सम्बन्ध हुन सक्छ । तर प्रश्न उठेपछि उहाँले राजीनामा दिइसक्नुभएको छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे गठबन्धनमा कुनै छलफल चलेको छैन ।”
गठबन्धनभित्र यथास्थितिमा एमसीसी पारित गर्ने सहमति नभएको पनि उनले स्पष्ट पारे । उनले भने, “एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री र प्रचण्डले भन्नुभएको होइन । एमसीसी केही रकमको विषयमात्र नभएर राष्ट्रियता, सावैभौमसत्ता, अखण्डता, प्रचलित ऐन, नियम कानुनबारे केही प्रश्न उठेका छन् । त्यसमा परिमार्जन भयो भने सहयोग र अनुदान नलिने भन्ने होइन । यो दलविशेषको मात्र होइन, राष्ट्रिय सहमति गरेर जाने विषय हो ।”
माओवादी सकियो भन्नु वाहियात, भ्रमपूर्ण र कपोलकल्पित कुरा भएको उनले दाबी गरे । मन्त्री पौडेलले भने, “केही वर्ष यता माओवादी विभिन्न उतारचढावबाट गुज्रिएको छ । यसलाई पुनर्जीवित, पुनर्संगठित गर्दै हामी राष्ट्रिय सम्मेलनको तयारीमा छौं । माओवादी सकियो, प्रचण्डको राजनीति सकियो भन्नेलाई हामी फेरि पनि बलियो शक्ति भएर देखाउँछौं ।”
तत्काल प्रचण्डको विकल्प माओवादीमा नभएको पनि उनले बताए । उनले थपे, “माओवादी अहिले प्रचण्डवरिपरि गोलबद्ध छ । उहाँसँग सबैभन्दा समर्पित टिम छ । त्यसैले प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन ।”
केपी ओलीमा नेतृत्व कला भएको भए नेकपा टुटफुट हुँदैनथ्यो भन्ने जिकिर पनि उनले गरे । उनले भने, “उहाँले सबैलाई मिलाएर लैजान सक्नुभएन । त्यसैले प्रचण्डले फेरि जिम्मा लिने स्थिति आएको छ । अब प्रचण्ड र देउवाको सहकार्यमा देश अघि सम्हालिएर अघि बढ्छ ।”
आगामी चुनावमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरबीच सहकार्यको सम्भावना रहेको उनले औंल्याए ।