काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानन्यायाधीशका विषयमा उठेका विवादबारे न्यायालयबाटै चाँडोभन्दा चाँडो निकास निकाल्नु उपयुक्त हुने बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा. महतले भने, “प्रधानन्यायाधीशसँग न्यायाधीशहरुको असन्तुष्टि र अविश्वास हुन सक्छन् । तर संविधानका सीमा नाघेको अवस्थामा मात्र संसद्ले हात हाल्ने हो । तत्काल संवैधानिक व्यवस्थाभन्दा बाहिर जाने आधार देखिइसकेको छैन । न्यायालयभित्रै बार र न्यायाधीशहरुबीच सघन छलफल होस् र चाँडोभन्दा चाँडो निकास निक्लियोस् भन्ने हामीले चाहेका छौं ।”
नेता डा. महतले लामो समयसम्म सर्वोच्च अदालतमा न्यायसम्पादन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै स्वतन्त्र न्यायपालिकाबारे दलहरुले आफूखुसी बोल्नु उचित नहुने औंल्याए । उनले भने, “यस प्रकरणलाई दलहरुले गम्भीरतापूर्वक लिएका छन् । तर संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलग अलग कार्यक्षेत्र निर्धारण गरेको छ । कतिपय अवस्थामा चेक एन्ड ब्यालेन्सको व्यवस्था पनि छ । तर अहिलेको विवादमा तथ्य र कारण स्पष्ट भएको छैन ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे चासो लिएर विभिन्न दलका नेताहरुलाई भेटिरहेको र बोल्नुपर्ने परिस्थिति आयो भने दलहरुले बोल्ने उनले बताए ।
डा. महतले एमसीसीलाई अब अनिर्णयको बन्दी बनाउनु नहुने धारणा राखे । उनले भने, “एमसीसीबारे धेरै भ्रम छरिएको छ । विवाद र बहसको विषय बनाइएको छ । विदेशी सहयोग लिँदा एउटै मापदण्ड तय गर्नुपर्छ । भारत, चीन र अमेरिकासँग बेग्लाबेग्लै मापदण्ड बनाउनु घातक हुन्छ । यसबारे नेताहरुको व्यक्तिगत धारणा हुन सक्छ । तर गठबन्धन दलहरुबीच सैद्धान्तिक असहमति छैन ।”