Logo

एमाले उपाध्यक्ष डा. भीम रावलको प्रश्नः “गाउँ फर्कको जस्तो माथिबाट पद तोक्ने काम भएको छ, के बहुदलीय जनवाद हात्तीको देखाउने दाँत मात्र हो ?”



काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको महाधिवेशनको दौरान सुदूरपश्चिम प्रदेशमा गाउँ फर्कको जस्तो माथिबाट पद तोक्ने काम भएको आरोप लगाएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रावलले भने, “महाधिवेशनका सन्दर्भमा पार्टीभित्र सदस्यता नवीकरण र प्रतिनिधि चयनमा बेथिति र मनपरी देखापरेको छ । अपानि-१२ विपरीत प्रदेश समन्वय समितिको कथित बैठक गरिएको छ । जिल्लामा हुँदै नभएका मानिसलाई सस्दयता दिइएको छ । नक्कली छाप र सूची भेटिएको छ । माथिबाट पद तोक्ने गाउँ फर्कको जस्तो काम भएका छन् ।”

एमाले उपाध्यक्ष डा. रावलले सुदूरपश्चिम प्रदेशमा तत्कालीन माले र एमालेको संगठक आफू भएको दाबी गर्दै बीचमा आएर कसैले आफूलाई नेता साबित गर्न नसक्ने प्रतिक्रिया दिए । लेखराज भट्ट सुदूरपश्चिम प्रदेशको इन्चार्ज होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म व्यक्ति विशेषको प्रतिक्रियाको पछि लाग्दिनँ । पञ्चायतकालमा सुदूरपश्चिममा तत्कालीन मालेको संगठक मै हुँ । एमालेको सिर्जनाकार, निर्माता पनि मै हुँ । बीचमा आएर कसैले म नेता हुँ भन्न मिल्छ ? अध्यक्ष केपी शर्मा ओलीले गरेको हस्ताक्षर गरेको नमान्ने ? माथिदेखि तलसम्म मनपरी गर्ने ? के बहुदलीय जनवाद हात्तीको देखाउने दाँत मात्र हो ?”

के तपाईंले गृहजिल्ला अछाम पुगेर अध्यक्षमा उठ्ने घोषणा गरी अध्यक्ष ओलीलाई चुनौती दिनुभएको हो भन्ने अर्को प्रश्नमा डा. रावलले भने, “मैले कोही व्यक्तिविशेषलाई चुनौती दिएको छैन । कार्यकर्ताहरुले तपाईं अध्यक्ष पदमा लड्नुपर्छ भन्नुभयो । मैले काठमाडौं फर्केपछि यसबारे कुरा गरौंला तर तपाईंहरुको भावनाको कदर गर्छु मात्र भनेको हुँ ।”

महाधिवेशनमा उम्मेदवारीबारे स्थायी र केन्द्रीय कमिटीमा छलफल नभएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे । उनले थपे, “अब कसरी अघि जाने भन्ने बारेमा छलफल र र परामर्श भएको छैन । विधान महाधिवेशनमा पनि छलफल गर्न पाइएन । स्थायी र केन्द्रीय कमिटीमा पनि कुनै छलफल भएनन् । औपचारिक रुपमा यसो वा यसो हुन्छ भन्ने चरणमा म पुगेको छैन ।”

अध्यक्ष ओलीलाई तपाईंले पराजित गर्न सक्नुहोला भन्ने अर्को प्रश्नमा उनले भने, “कुनै पनि निर्वाचनमा हार र जित सामान्य हो । आठौं महाधिवेशनमा ओलीले पनि हार्नुभएकै हो । नवौंमा माधव नेपालले पनि हार्नुभएकै हो । हामीले विधि र पद्धतिको झन्डा उठाउने हो । म राष्ट्रिय हितको कुरा गर्छु । मेरा कार्यसूची समयक्रममा आउँछन् ।”

अध्यक्ष ओलीसँग आफ्नो व्यक्तिगत रिसइबी केही नभएको पनि उनले दाबी गरे । उनले भने, “ओलीसँग मेरो कहाँ रिसइबी छ र ? कुनै पदमा प्रतिस्पर्धा गर्नु भनेको रिसइबी हो र ? त्यस्तो रिसइबी नै हुने भए हामी कस्तो राजनीतिक अभ्यास गर्दैर्छौं ? यहाँ मेरो कोही शत्रु छैन भनेर जोगीलाई टीका लगाइदिने कोही मठाधीश छन् र ?”

नेता डा. रावलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानबिनका लागि संसद्मा प्रक्रिया अघि बढाउनुपर्ने औंल्याए । उनले भने, “सर्वोच्च अदालतमा लामो समयदेखि इजलास बसेको छैन । प्रधानन्यायाधीशमाथि संगीन आरोप लागेका छन् । राजनीतिक दलहरु कोही न्यायालयले नै निर्णय गरोस् भन्ने, कोही प्रधानन्यायाधीशकै पक्ष लिएजस्तो गर्ने । यसमा सबैले नैतिकताबोध गर्नुपर्छ । महाभियोगबाट जाने हो कि अरु विकल्प छन्, तत्काल सोच्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot