काठमाडौ, कार्तिक २६ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि आठ इजलासमा तोकेका छन्। प्रधानन्यायाधीश जबराले शुक्रबार एकल इजलास र सात संयुक्त इजलास तोकेका हुन् । आज सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले आज आफ्नो आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् । यता नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ ।
बिहीबार बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका थिए । बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस गर्न नजाने निर्णय गरेको बारले शुक्रबार भने सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको हो ।
त्यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भनेपनि जबरा बैकल्पिकमार्गबाट अदालत परिसर भित्र प्रवेश गरेका छन् ।
जबरा विहान ११ बज्नै लाग्दा मूल गेट छोडेर एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए।
बिहीबरको प्रदर्शनमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएपछि आज सर्वोच्च वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीले अदालत परिसर भित्र चार तहको सुरक्षा व्यवस्था बनाएको छ । सडक बाहिर दंगा नियन्त्रण बल तैनाथ रहेको छ ।