Logo

रामचन्द्र र प्रकाशमानबीच बोलचाल नै बन्द



काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच बोलचाल नै बन्द भएको छ। दुवै नेता एउटै समूहमा थिए । तर, पछिल्लो समय वरिष्ठ नेता पौडेलसँग नेता सिंह रुष्ट बनेका छन् । खासगरी पौडेलले एकलौटी गर्न खोजेको र आफूलाई एकपछि अर्को गरेर धोका दिएको भन्दै सिंह पौडेलसँग रुष्ट बनेका छन् । सिंहनिकट उच्च स्रोतकाअनुसार अहिले यी दुई नेताबीच पानी बाराबारको सम्बन्ध छ ।

नेता पौडेलको फोन पनि सिंहले उठाउन छोडेका छन् । पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरिसकेका सिंह यसपटक कुनैपनि हालतमा ब्याक नहुने पक्षमा छन् । नेता सिंह अहिले देश दौडाहामा समेत निस्किएका छन् । उनले भर्खरे थुप्रै जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदा आफू सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्।

सिंहसँग अहिले युवा नेता गगन थापा नजिकिएका छन्। थापा यसअघि कृष्णप्रसाद सिटौलाको समूहमा थिए । तर, सिटौलाले भित्रभित्रै सभापति शेरबहादुर देउवासँग समिकरण बनाउन थालेपछि थापा सिटौलाको साथ छोडेर सिंहसँग निकट भएका छन् । थापाले पनि महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरिसकेका छन् । नेता सिंह पौडेलसँग रिसाउनुको प्रमुख कारण भनेको पौडेलले यसपटकको महाधिवेशनमा सिंहलाई सघाउने बचन दिएका थिए ।

तर, पछिल्लो समय पौडेल आँफै सभापतिको दौडमा देखिएका छन् । त्यस्तै, सरकारमा सहभागी हुने विषयमा आफ्नो समूहबाट मन्त्री चयन गर्दापनि पौडेलले एकलौटी गरेको सिंहको आरोप छ । सुरुमा पौडेल समूहले काठमाडौं १० बाट निर्वाचित सांसद राजन केसीलाई मन्त्री बनाउने भनेको थियो । तर, पौडेलले सिंहलाई थाहा नै नदिईकन दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाए ।

पौडेल र सिंहबीचको बिग्रिएको सम्बन्ध सुधारको लागि अहिले नेता राजन केसी र राजुराज जोशी अहिले दुई नेतालाई मिलाउन लागिपरेका छन् । तर, सिंहले अब पौडेलसँग आफ्नो कुनै सम्बन्ध नहुने बताउन थालेका छन् । नेता सिंहको सम्बन्ध पौडेलसँग मात्रै नभएर महामन्त्री शशांक कोइरालासँग पनि बिग्रिएको स्रोतको दाबी छ । उनले महामन्त्री कोइरालालाई अब आफू एक्लै भएपनि अघि बढिसकेकोले जे/जस्तो नतिजा आएपनि सभापतिको उम्मेद्धवारीबाट पछि नहट्ने सन्देश पठाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot