Logo

काँग्रेसमा यस्तो बन्नसक्छ समिकरण



काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रभावशाली नेताहरुबीच शक्तिबाँडफाँडसहित समिकरण बन्ने सम्भावना बढ्दै गएको छ । सभापतिका आकांक्षी धेरै भएकाले कुनै एक नेताको एकल वर्चश्व देखिदैन । विगतमा गिरिजाप्रसाद कोइरालाको एकल प्रभाव हुँदा कसैले पनि सभापतिमा उनलाई कडा चुनौती दिन सक्दैनथिए । अहिले काँग्रेसभित्र कुनै एक नेताको बहुमत छैन । त्यसकारण सभापति जित्न अन्य प्रभावशाली नेतासँग शक्ति बाँडफाँडविना सम्भव छैन ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा व्यक्तिगत रुपमा सबैभन्दा बलियो छन् । तर, उनको एकल बहुमत देखिदैन । देउवा सभापति जित्न वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये कम्तिमा एक नेतालाई आफ्नो पक्षमा तान्न खोजिरहेका छन् ।

देउवाले कोइराला, सिंह या सिटौलामध्ये एकलाई तान्ने निश्चितप्रायः छ । तीनैजना सभापतिका दाबेदार हुन् । कोइरालाले देउवालाई हराउन इतर समूहबाट साझा उम्मेदवारको प्रस्ताव गरेका छन् । तर, उनले पौडेल वा सिंहले देउवालाई हराउन नसक्ने सार्वजनिक रुपमा बताएका छन् ।

सिंहले सार्वजनिक रुपमै देउवा र पौडेलबाट पार्टी चल्न नसक्ने बताएका छन् । महामन्त्री कोइरालाको क्षमतामाथि समेत प्रश्न गरेका छन् । यसबाट उनी पछि हट्ने सम्भावना तत्काल देखिदैन ।

सिटौलाले भने देउवालाई साथ दिने सम्भावना रहन्छ । सशांक कोइरालाले अन्तिम अवस्थामा शेखर कोइरालालाई साथ दिने सम्भावना पनि छ । तर, कोइराला परिवारभित्रै एकता देखिदैन । सुजाता कोइराला सशांक र शेखर दुवैसँग चिढिएकी छिन् ।

देउवाले विजयकुमार गच्छेदारको साथ पाउने आशा राखेका छन् । तर, गच्छेदारले वचन दिएका छैनन् । उपसभापति विमलेन्द्र निधिको सभापतिमा दाबी छ । उनले देउवालाई साथ नदिने सम्भावना बढेर गएको छ ।

अब काँग्रेसभित्र देउवाविरुद्ध प्रकाशमान सिंह, सशांक कोइराला र विमलेन्द्र निधि एक हुने सम्भावना कमजोर बन्दै गएको छ । सिंह र कोइराला मिल्ने सम्भावना पनि कमजोर छ । तर, राजनीतिक घटनाक्रमले यी तीनबीच शक्ति बाँडफाँडबाट एकता हुने सम्भावना पनि छ ।

देउवाले गच्छेदार र निधिलाई साथ लिएर जाने सम्भावना पनि छ । देउवा र पौडेलबीच पावर सेयरिङबाट अगाडि बढ्ने सम्भावना पनि देखिएको छ । यी दुई पछिल्लो समय नजिकिएका छन् ।

देउवाको साथमा अन्तिम समयमा सिंह जाने सम्भावना पनि छ । दुवै विगतमा साथ थिए । सिंहको साथ पाएमा देउवा सभापति जित्ने सम्भावना बलियो हुन्छ । एकल पकडका हिसाबले देउवापछि सिंह नै शक्तिशाली देखिएका छन् ।

पौडेलले देउवा इतर समूहलाई मिलाएर कोइराला परिवार र सिंहमध्ये एकलाई सभापतिमा बढाउने प्रयास पनि गरेका छन् । तर, यो सजिलो छैन । देउवाविरुद्धको समूह मजबुत बनाउन प्रभावशाली नेताहरु पौडेल, कोइराला र सिंह एकजुट हुनुसक्नुपर्छ । यो सम्भावना कमजोर भएको छ तर असम्भव भने छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot