Logo

भारत सरकारको सहयोगमा निर्माण हुने नहरपुर माध्यमिक विद्यालय भवनको शिलान्यास



काठमाडौं, २ मंसिर । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास भएको छ । निर्माण हुन लागेको विद्यालयको भवनको शिल्यान्यास भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले बुधबार गरेका हुन् ।

भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा उक्त नयाँ विद्यालय भवनको निर्माण करिब ४ करोड ४ लाख रुपैयाँको लागतमा हुने जनाईएको छ ।

सन् १९७१ मा स्थापना भएको उक्त विद्यालय त्यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११ सय २७ जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमा करिब ५०% छात्रा रहेको दुतावासले जनाएको छ ।

सन् २००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटि, सरसफाई लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यी परियोजनाहरु मध्ये रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी प्रदेश ५ मा ६० वटा परियोजना रहेकोमा सोही जिल्लाका दुई गरी ९ वटा परियोजना निर्माणका विभिन्न चरणमा रहेको दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारत र नेपालबीच बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुईका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । बुधबारको शिलान्यासले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा हातेमालो गर्न भारत सरकार सधै प्रतिबद्ध रहेको तथ्यलाई प्रतिबिम्बित गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्