Logo

देउवाको शक्ति कति ?



काठमाडौं, २ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि नेतृत्वका लागि अगाडि बढेका छन् । उनले औपचारिक रुपमा सभापतिको उम्मेदवार बन्ने घोषणा नगरेपनि आफूनिकटस्थहरुसँग खुलाइसकेका छन् ।

देउवा १३औं महाधिवेशनमा पहिलो चरणमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा रामचन्द्र पौडेललाई पराजित गर्न सफल भएका थिए । काँग्रेस सभापतिका रुपमा उनी प्रधानमन्त्री बने । प्रतिनिधि सभाको चुनाव गराए । तर, काँग्रेसलाई नराम्रो धक्का लाग्यो ।

देउवालाई भाग्यले प्रधानमन्त्री पदमा पुर्यायो । यसले पनि उनको शक्ति बढ्यो ।

सत्ताको बल देउवाको शक्ति हो । त्यसबाहेक उनलाई अन्तर्राष्ट्रिय समर्थन पनि देखिएको छ । काँग्रेसभित्र उनको पक्षमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, एनपी साउद, विश्वप्रकाश शर्मा जस्ता नेताहरु खुलेका छन् । तर, यो शक्तिले मात्र देउवालाई सभापति जित्न मत नपुग्न सक्छ ।

देउवासँग लामो राजनीतिक अनुभव छ । नेविसंघको राजनीतिबाट बढेका उनले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता नेताको नजिक भएर काम गरे । गृहमन्त्री हुँदै प्रधानमन्त्री बनेका देउवा पाँचपटक देशको प्रधानमन्त्री बनिसकेका छन् । उनको अनुभव आफैमा अर्को शक्ति हो ।
राणा परिवारकी डा. आरजु देउवासँग विवाह गरेर राजनीतिक लाभ लिन सके । संभ्रान्त परिवारकी आरजुको अन्तर्राष्ट्रिय सम्बन्ध देउवालाई निकै लाभदायक बनिरहेको छ ।

देउवा विपक्षीका लागि पनि सजिला नेता हुन् । त्यसैले कम्युनिस्ट नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड देखि माधवकुमार नेपालसमेत देउवालाई सजिलो मान्छन् । त्यसैले प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए । प्रचण्डले दुईपटक देउवालाई प्रधानमन्त्री बनाउन साथ दिइसकेका छन् ।

काँग्रेसभित्र देउवाले इतर समूहलाई पनि तान्ने प्रयास गरिरहेका छन् । उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह देउवाविरुद्ध कडा बन्दै सभापतिको दौडमा छन् । यी दुईलाई साथ लिनसक्ने सम्भावना कमजोर हुँदै गएपछि देउवाको ध्यान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलातर्फ मात्र नभई वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका सदस्यतर्फ पनि गएको छ ।

देउवाको संगठनमा पकड बनाउने क्षमता बलियो छ । उनी कार्यकर्तालाई संरक्षण पनि गर्छन् । विशेषगरी आफ्नो भेगकालाई साथ दिन मरिमेटेर लाग्छन् भन्ने जयबहादुर चन्दलाई आइजीपी बनाउन गरेको प्रयासबाट पनि देखिन्छ । पछि चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति पाए । देउवाको यही शैली आलोचित भएपनि शक्ति आर्जनको मुख्य कारण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot