Logo

कमसल मल प्रयोग गर्न बाध्य प्रदेश १ का किसान



विराटनगर, मंसिर १२। मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजी गरेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुश्किलले २५ केजी पाए ।

‘मलको आश गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले भने, ‘बल्ल बल्ल पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी छरेँ । बाँकी १५ कठ्ठामा छर्न पाइएन ।’ होक्लाबारीकै गजेन्द्र भट्टराईले पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्न नपाएको गुनासो गरे । ‘कृषि सामग्री कम्पनीले दिएन, सीमावर्ती बजारमा पाइने कमसल डीएपी ल्याएर खेती गर्नुको अर्थ नै छैन ।’

कृषि सामग्री कम्पनीले मागेजति डीएपी मल नदिएको गुनासो सम्बन्धित सहकारी संस्थाहरूको छ । ‘एक लटमा मुश्किलले ५० बोरा दिन्छ,’ कम्पनीबाट डीएपी लगेर किसानलाई विक्री गर्ने सहकारी संस्था होक्लाबारीका प्रतिनिधि रवीन्द्र तिवारीले भने, ‘एक लटमा दुईसय बोराको माग हुन्छ । तर सामग्रीले एक चौथाइ परिमाण मात्र उपलब्ध गराएपछि किसानलाई बढीमा २५ केजीमात्र उपलब्ध गराउने गरेका छौं ।

रंगेली आमतोलाका रुद्र भट्टराईको पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्ने योजना पूरा हुन सकेको छैन । माटो तयारी भएको, तर कहीँ जाँदा पनि मल नपाउँदा तोरी छर्न नपाएको उनको गुनासो छ ।

सुनसरीको बर्जु–४ सीतागञ्जका जितबहादुर खड्काले स्थानीय सहकारी संस्थाले उपलब्ध नगराएपछि सीमावर्ती भारतीय बजारमा उपलब्ध हुने कमसल मल ल्याएर दुई बिघा खेतमा तोरी छरेको बताए ।

बर्जुकै विन्दे साहले पनि तोरी छर्न माटो तयार गरेर सातासम्म डीएपी मल खोजी गर्दा नपाएपछि सीमावर्ती बजारबाट ल्याएर तोरी छरेको बताए ।

माग अनुसारको आयात हुन नसक्दा तोरीको सिजनलाई डीएपीको अभाव भएको प्रदेश १ कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । ‘प्रदेश १ मा मात्र तोरीका लागि ७–८ हजार टनभन्दा बढी डीएपीको माग छ,’ उनले भने, ‘कृषि सामग्री कम्पनीले ६ हजार ५०० टनमात्र आयात गरेको छ । त्यसमा पनि दुई हजार टन दुई नम्बर प्रदेशमा जान्छ ।’

आयात गरिएको ६ हजार ५०० टनमध्ये १ हजार २०० टनमात्र आइपुुगेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot