Logo

भीम रावलको पखाईमा ओली, अहिले पार्क सफारी होटेल नेता/कार्यकर्ताले भरियो



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज तेस्रो दिन । अझैसम्म पनि बन्दसत्र सुरु भएको छैन् । हिजो नै बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर, अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका भीम रावलले भने उक्त प्रस्तावको ठाडै विरोध गरेका थिए ।

उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको चीरहरण गर्न नपाईने भन्दै आफूले कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने बताईसकेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले आफू कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारबाट ब्याक नहुने बताईसकेका छन् । उनले ओलीसँग चुनावी प्रतिष्पर्धा नै गर्ने अठोट लिएका छन् ।

ओलीले विहानैदेखि आफूनिकट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल राखेर पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको सूचि बनाएको बुझिएको छ । यो बीचमा उनले थुप्रै नेताहरुसँग् छुट्टाछुट्टै छलफलसमेत गरिसहेका छन् । ओली पक्षधर नेताहरुले रावललाई फकाउने प्रयाससमेत गरिरहेका छन् । तर, रावलले भने चुनावी प्रचारमा जुटिसकेका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न हिजैबाट सुरु गरिसकेका छन् ।

अहिले ओली रावलसँग छलफलको लागि होटेलमै बसेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार रावल आउने भनेर अहिले सबै मिडिया ओली बसेको होटेल पार्क सफारीमा भेला भएका छन् । भित्र ओली भने महेश बस्नेतलगायतका नेताहरुसँग छलफलमा व्यस्त छन् । रावल आउने वा नआउने भन्नेबारे यकिन छैन् ।

यसअघि एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको थियो । उनीहरुले आज विहानै ओली बसेको सफारी रिसोर्टमा भेट गरेका थिए । भेटमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू सहभागी थिए।

ओलीसँग भेट गरेर बाहिरिएका ज्ञवाली र शाक्यले के विषयमा छलफल भएको भन्ने केही खुलाउन चाहेका थिएनन् । स्रोतका अनुसार उनीहरूले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नेताको नाम ओलीलाई बुझाएका हुन् । आफू बसेको रिसोर्टमा ओलीले पदाधिकारीका आकांक्षी र आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन् । जसकारण महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन ।

‘१० भाइ’ समूहमध्ये भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावल निकट कार्यकर्ताले त बन्दसत्र हल बाहिर पर्चासमेत बाँड्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot