Logo

आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान



गोरखा, ४ वैशाख । गण्डकी गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जन बढाउन अनुदानमा बाख्रा वितरण गरेको छ ।

अतिविपन्न परिवार तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पु(याउने उद्देश्यले चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।

“पालिकाभित्रकै पशुपालक किसानबाट खरिद गरेर सूचीकृत भएका अतिविपन्त परिवार र एकल महिलाको आर्थिकस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो”, उनले भने, “यसबाट अनुदान पाएका परिवारको आयआर्जन बढाउँदै जीविकोपार्जनमा सहज हुने विश्वास छ ।”

स्थानीय पशुपालक किसानले उत्पादन गरेका बाख्रा खरिद गरेर वितरण गरेकाले स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ । गाउँपालिकाले पालिकामा सूचीकृत भएका अति विपन्न परिवारलाई ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ र एकल महिला जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदानमा बाख्रा वितरण गरेको हो ।

कार्यक्रमबाट ३३ अतिविपन्न परिवार तथा एकल महिला लाभान्वित भएको उनले बताए । गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत अनुदानका लागि वडा नं ३, ४ र ५ का २७ जना अतिविपन्न परिवार छनौट भएका थिए । एकल महिला जीविकोपार्जन सहयोग कार्यक्रममार्फत तीनवटा वडाका छ जना छनौट भएका छन् । छनौटमा परेका सबैलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्