कुलप्रसाद काफ्ले/न्युज कारखाना ; चितवन, १२ मंसिर : नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी छ । आगामी नेतृत्व सर्वसम्मतबाट आउने कि चुनावबाट भन्नेमा अझै अन्यौलपूर्ण छ । आज आइतबार निर्वाचन हुने भनिएकोमा अझै पनि त्यसको टुंगो लागेको छैन ।
आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको पर्खाइमा महाधिवेशन प्रतिनिधि रहे । साँझपख भने एमालेको महाधिवेशन स्थलमा जिवित गैंडा आइपुग्यो । ओली बसेको होटल पार्क सफरको गेट अगाडि नै गैंडा आएपछि बन्द सत्रका लागि सौराहा पुगेका प्रतिनिधिलाई गैंडाको फोटो र भिडियो खिच्न भ्याइनभ्याई भयो ।
एमालेले महाधिवेशनको लोगोमै गैंडाको मस्कट राखेको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु आएका छन् । प्रत्यक्ष रुपमा गैंडा नदेखेका प्रतिनिधिहरुले पनि प्रत्यक्ष रुपमा गैंडा देख्न पाउँदा उनीहरु खुसी देखिए । तर सौराहामा यसरी आवास क्षेत्रमै गैंडा निस्किएको भने पहिलो पटक होइन ।
महाधिवेशनको बन्द सत्र होटल सेभेन स्टारमा हुँदै छ । आइतबार साँझ महाधिवेशनस्थलमा निस्किएको गैंडाको नाम मेघौली हो । यो गैंडा चितवन राष्ट्रिय निकुञ्जले २०७४ सालमा मेघौलीबाट उद्धार गरेको हो ।
बाढीमा फसेको गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखियो । गैंडाको न्वारन गरेर मेघौली नाम राखिएको हो । मेघौलीलाई तीन वर्षअघि नै प्रकृतिमा छाडिएको हो । मानिससँग घुलमिल भइरहेको मेघौली प्राय सौराहाका सडकमा आइराख्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछाने बताउँछन् ।
‘सौराहामा देखिएको गैंडा पहिला हामीले उद्धार गरेर पुनः जंगलमा छाडिसकेको गैंडा हो’, उनले भने, ‘मेघौली प्राय सौराहामा निस्किरहन्छ । यो मात्रै होइन अरु चार÷पाँच वटा गैंडा पनि त्यसरी निस्किने गर्छन् ।’ ती गैंडा रिसाहा नभएकाले मानिसलाई केहि नगर्ने उनी बताउँछन् ।
यद्यपी उसको नजिक गएर जिस्काउन भने नहुने उनको भनाइ छ । त्यसरी सडकमा निस्किने गैंडालाई नेपाली सेनाले स्कटिङ गर्ने गर्छन् । कोष परिसरमा अहिले पनि दुई वटा गैंडा संरक्षण गरेर राखिएको छ ।