काठमाडौँ, १४ मङ्सिर: उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य वाग्मतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । यससँगै पाँच खेलमध्इे वाग्मतीले दुई खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ ।
त्यस्तै पाँच खेलमध्ये चार खेलमा पराजय भोगेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ । वाग्मतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रनको योगदान दिए भने क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट लिए भने प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कर्णाली २७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन जोड्दा सन्दीप शाही १४, विपीन रावल १२ तथा रुपक दाहाल १० रनमा आउट भए ।
वाग्मतीका गौतम केसी एक्लैले चार विकेट हात पारे । विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए । कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मूलपानीमा प्रदेश २ सँग खेल्नेछ भने वाग्मतीले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ ।-रासस/File Photo