Logo

झन्डै ४० राष्ट्रमा पुग्यो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’



एजेन्सी, १८ मङ्सिर। विश्व स्वास्थ्य सङ्गठनको प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ। भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर, नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन।

कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी सङ्क्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड-१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना छ। तर यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ।

रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्याङ्कलाई उद्धृत गर्दै यो भेरिअन्ट “अत्यन्तै सङ्क्रामक” रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने ‘स्ट्रेन’ बन्न सक्ने सम्भावना रहेको बताइन्। तर यस्तो पूर्वानुमान गर्न भने कठिन रहेको उनको भनाइ छ। उनका अनुसार अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरिअन्टबाट सङ्क्रमति रहेका छन्।

“हामी कति चिन्तित हुनुपर्छ? हामी तयार अनि सतर्क रहनुपर्छ, आत्तिने होइन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौँ,” उनले भनिन्।

डब्ल्यूएचकोका आपत्कालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा झहिले कोभिड-१९ विरुद्ध “निकै प्रभावकारी खोपहरू” उपलब्ध भएका र व्यापक रूपमा खोप वितरण गर्ने विषयमा ध्यान केन्द्रित गरिनुपर्ने बताए। कोभिडको नयाँ भेरिअन्टलाई ओमिक्रोन नाम दिइएको एक साता हुँदा कोभिडको यो स्वरूपले पार्न सक्ने खतराबारे बुझ्न विश्व सङ्घर्षरत छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot