Logo

एमालेमा केन्द्रीय सदस्य मनोनयनको तयारी



काठमाडौं, मंसिर २१ । नेकपा एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्य नबनेका नेताहरूलाई केन्द्रीय कमिटीको दोस्रो बैठकबाट मनोनयन गर्ने तयारी भएको छ।

३ सय १ केन्द्रीय सदस्यको १० प्रतिशत नेतालाई मनोनयन गर्ने तयारी भएको हो। दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रस्ताव गर्दा धेरै नामहरू छुटेको भन्दै विधानले दिएको व्यवस्था अनुसार १० प्रतिशत सदस्य मनोनयन गर्न लागिएको हो।

चितवनमा भएको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले मंसिर २५ र २६ गते हुने केन्द्रीय कमिटीको बैठकले १० प्रतिशत सदस्यलाई मनोनयन गर्ने बताएका थिए। सोही अनुसार आउँदो केन्द्रीय कमिटी बैठकबाट छुटेका नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी भएको हो।

एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ, बुद्धिकुमार राजभण्डारी,कृपाशुर शेर्पा, दीपक भट्टलगायतका धेरै नेताहरू केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका थिए। भट्टराईलाई प्र्रदेश १ को अध्यक्ष बनाउने तयारी भए पनि अन्य नेताको हकमा केन्द्रीय सदस्यमै व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।

प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएपछि उनी पछि हटेका थिए। राजभण्डारी सोलुमा एमालेको चर्चित नेता हुन्।

पाँचवटा महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनीधि भए पनि केन्द्रीय सदस्य हुनबाट उनी वञ्चित हुँदै आएका छन्। शिव गुरुङ हालका सचिव योगेश भट्टराईका समकालीन हुन्। लामो समय विद्यार्थी राजनीति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका उनी अझै केन्द्रीय कमिटीमा पर्न सकेन्न।

काठमाडौंका प्रभावशाली नेता सुरेन्द्र मानन्धर यसअघिकै केन्द्रीय सदस्य हुन्। उनलाई पनि १० प्रतिशत मनोनयन गर्ने नाममा थामथुम पारिएको थियो। उनलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मनाएकी थिइन्। जनजाती कोटाबाट यसपटक राजभण्डारी र गुरुङको सम्भावना रहेको छ। योगेन्द्र शाही एमाले वृत्तमा बौद्धिक नेताका रूपमा परिचित छन्।

विदेश मामिलामा दखल राख्ने शाही विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। उनलाई पनि केन्द्रीय सदस्य बनाउने तयारी भएको छ। पर्वतका विकास लम्साल, पदम गिरीमध्ये एक जना प्रदेश अध्यक्ष र एकलाई केन्द्रीय सदस्य बनाउने तयारी छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot