काठमाडौं, मंसिर २७ । १४औं महाधिवेशनअन्तर्गत प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको नेतृत्व चयन अर्थात भाग्य परिक्षा आज हुँदै छ । केन्द्रीय कार्यसमिति चयनका लागि आज साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका राखेको छ ।
४ हजार ७ सय ४३ जना मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्ने भएकाले निर्वाचन समितिको समयसीमाभित्र मतदान कार्यक्रम नसकिने देखिएको छ । विहान ८ बजे नै सुरु हुने भनिएको निर्वाचन भने अझै सुरु भएको छैन् ।
१३ पदाधिकारीसहित १ सय ३४ सदस्यका लागि हुने निर्वाचनमा ४ सय ८२ जनाको उम्मेदवारी परेको छ । जसमा एक सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको भने दुई महामन्त्रीका लागि ६ जना र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले १९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदान प्रक्रिया लम्बिने देखिदासमेत प्रक्रिया सुरु हुन सकेको छैन् । भृकुटीमण्डप परिसरभित्र दुई र राष्ट्रिय सभागृहमा एक गरी तीन ठाउँमा मतदान गर्न १ हजार बुथ राखिएको छ ।