Logo

दोस्रो चरणको मतदान ३ः३० बजे सुरु हुने



काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान आज दिउँसो ३ः३० बजेदेखि सुरु हुने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार ३ः३० बजे सुरु हुने मतदान बेलुका ७ः३० बजेभित्र सक्ने कार्यतालिका रहेको छ ।

मंगलबार सार्वजनिक मतपरिणाम अनुसार पहिलो चरणमा सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो । मतदान राष्ट्रिय सभा गृहमा हुने छ ।

समितिका अनुसार पहिलो चरणमा शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका छन् ।

देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ । समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुनः मतदानका लागि तालिका अनुसार तयारी भइरहेको छ। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

 

 

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ । सभापतिका लागि पुनः मतदान हुनेभएपछि अन्य पदाधिकारिको मतगणनाहुन समय लाग्ने देखिएको छ । अन्य पदाधिकारिहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सम्भवत बुधबार विहान १ बजेपछि अन्य पदाधिकारिको मतगणना हुन सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्