काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेद्धवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफूले जित्ने विश्वास दिलाएका छन् । दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टामात्रै अघि पत्रकार सम्मेलन गर्दै उनले आफूले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिष्पर्धा गर्ने जनाउँदै विजयी सुनिश्चित् रहेको दाबी गरे ।
उनले आफूलाई रामचन्द्र पौडेल र डा. शशांक कोइरालाको पनि समथर्न रहेको जनाए । उनले भने,‘राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुने कुरामा म अत्यन्तै विश्वास गर्छु । मूल्य र मान्यता गुमाएपछि राजनीति सम्भव हुँदैन भन्ने मेरो भनाई हो । अहिले महाधिवेशन प्रतिनिधिहरुले आँफै नेता हो । उहाँहरुले जुन मतदान दिनुहुनेछ, अहिले दोस्रो चरणको निर्वाचनमा, उहाँहरुले आफने मनको अन्तरआत्माले विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । उहाँहरुको एक मतले नेपालको भविष्य हामी परिवर्तन गर्न सक्छौं भन्ने विश्वास लिएको छु ।’
डा. कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर र कुनै गुट, उपगुट नहेरी भोट हाल्न अपिल गरे । उनले भने,‘म विनम्र आग्रह गर्न चाहन्छु तपाईँहरुले भोट हाल्दा गुट, उपगुट, भागबण्डा सबैलाई बिस्रिएर आफ्नो विवेक प्रयोग गर्नुहोस । आफ्नो अन्तरआत्मा सुन्नुहोस र त्यसलाई भोटमा प्रतिनिविम्बित गर्नुहोस । म कांग्रेसमा सुधारको पक्षमा छु । अहिले पार्टीभित्र जुन अव्यवस्थाको चाङ लागेको छ, त्यसलाई व्यवस्थित् गर्नेछु । निर्वाचनको लागि भएको हिजोको घट्ना मैले भनिरहन पर्दैन्, पार्टीमा मैले परिवर्तन र रुपान्तरण अनि पूनर्जागरणको कुरा गरिरहेको छु। पार्टीभित्र बृहत्तर एकताको लागि प्रयास गर्छु । दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ भन्नेमा म विश्वस्त छु।’
उनले अहिले कसले कसलाई समर्थन गर्यो भनेर भन्नुभन्दापनि आफू स्वस्थ प्रतिष्पर्धामा विश्वास गर्ने नेता भएको सुनाए । उनले भने,‘तपाईँहरु विवादस्पद कुरा उठाउन खोज्नुहुन्छ । हामी स्वस्थ प्रतिष्पर्धामा विश्वास गर्छौं । कसले कसलाई समर्थन गर्यो भन्ने कुरा ठूलो होइन । महाधिवेशन प्रतिनिधिहरुले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ। रामचन्द्र र शशांकको पनि मलाई ब्लेसिङ छ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम