Logo

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा



काठमाडौं, मंंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

प्राधिकरण लहान वितरण केन्द्र सिराहाको मिटररिडर र हेल्पर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र सत्यनारायण साहको बिमाबापतको रकम बिनाजानकारी उनीहरूलाई झुक्याएर, निकासा भुक्तानी भौचरमा दस्तखत गराई आफ्नो खातामा गुप्ताले जम्मा गराएका थिए ।

उनले ठाकुरको नामको ८ लाख सात हजार ३ सय ६० रुपैयाँ र साहको १ लाख २४ हजार २ सय रुपैयाँ आफ्नो खातामा जम्मा गराएका थिए । त्यस्तै, सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको साबिक नमुना गाउँविकास समिति गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले यादवसँग १२ लाख ८६ हजार ८ सय बिगो कायम गर्नसमेत माग गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot