५ पुस : ल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनका प्रतिद्धन्द्धी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए । उनीहरुका बीचमा १२ प्रतिशत मत अन्तर थियो । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११-१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी मुख्य आन्दोलनकारी थिए ।त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका थिए ।
त्यसैगरी सन् २०१७ मा पनि उनी सवैभन्दा धेरै मतसहित विजयी भएका थिए। अहिले फेरि सरकारबिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यबस्था अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।-एएफपी/Photo: Agency